काठमाण्डौ । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका कारण पुगेको क्षतिबाट निर्जीवन बीमा कम्पनीहरुमा अर्बौ रकमको बीमा दाबी परेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार निर्जीवन बीमकहरुमा २० अर्ब ७० करोड रुपैयाँ भन्दा बढीको बीमा दाबी परेको छ ।
बीमा कम्पनीहरुमा अर्बौै रकमको दाबी पर्दा सेयर लगानीकर्ताहरु प्यानिक बन्न थालेका छन् । आज सेयरबजारमा ४।४४ प्रतिशतको उछाल आएपनि निर्जीवन बीमा समूह घट्न पुगेको छ । नेप्सेमा कुल १४ निर्जीवन बीमा कम्पनी सूचीकृत छन्, जसमा दुई कम्पनी एनएलजी इन्स्योरेन्स र लघुबीमातर्फको नेपाल माइक्रो इन्स्योरेन्सको मात्रै सेयरभाउ आज बढेको छ भने १२ कम्पनीको सेयरभाउ उच्च अंकले घटेको छ ।
नेपाल बीमा प्राधिकरणका अनुसार जेन जी आन्दोलनको क्रममा बीमा कम्पनीहरुमा पौने २१ अर्ब रुपैयाँको दाबी परेको छ । तर सो दावी रकममा सतप्रतिशत बीमा कम्पनीले तिर्नुपर्छ भन्ने होइन । त्यसमा मूल्याङ्कनको क्रममा करिब १५ देखि २५ प्रतिशत कम हुनसक्नेछ । पछिल्लो तथ्याङ्कको आधारमा बीमा कम्पनीहरुले करिब १६ देखि १७ अर्ब रुपैयाँ मात्रै बीमा दावी तिर्नुपर्ने देखिन आएको छ ।
अहिलेको बीमा दाबी हुलदंगा तथा आतंकवाद बीमा अन्तर्गत रहेकाले सो आधारमा औषतमा नेपाल पुनर्बीमा कम्पनीमा ६५ प्रतिशत र बीमा गर्ने कम्पनीको हिस्सा ३५ प्रतिशत हिस्सा भागबण्डा गरिएको छ । ६५ः३५ प्रतिशत रेसियोको आधारमा कूल २० अर्ब ७० करोड दावी मध्ये नेपाल पुनर्बीमा कम्पनीमा करिब १४ अर्ब र बाँकी हिमालयन रि तर्फ पर्ने देखिन आएको छ । सो आधारमा नेपाल रितर्फ नौ अर्ब र हिमालयन रि तर्फ सवा तीन अर्ब रुपैयाँ दावी पर्ने देखिएको छ ।
तर पुनर्बीमा कम्पनीहरुले पनि जोखिम बहन गर्नका लागि विदेशी कम्पनीहरुसँग पुनर्बीमा गरेका हुन्छन् । यसर्थमा नेपाली बीमा कम्पनीहरुलाई बीमा दाबीको शतप्रतिशत भार नपर्ने देखिएको छ ।
प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कको आधारमा निर्जीवन बीमा कम्पनीहरुमा दायित्वको भार पर्ने आँकलनले लगानीकर्ता प्यानिक हुँदा आज अधिकांश कम्पनीको सेयरमूल्य घट्न पुगेको नेपाल सेयरधनी संघका अध्यक्ष घनश्याम पाण्डेले बताए ।
‘विशेषगरी आज निर्जीवन बीमा कम्पनीहरुको सेयरमूल्य घट्नुको प्रमुख कारण भनेकै लगानीकर्ताहरु प्यानिक हुनु हो’ उनले भने, ‘बीमा प्राधिकरणले तथ्याङ्क सार्वजनिक गरेपछि बीमा कम्पनीहरुमा अर्बौ रकम दाबी पर्ने देखिएकाले लगानीकर्ताहरु त्रसित हुन पुगेका हुन् ।’
कतिपय लगानीकर्ताहरुमा २० अर्ब भन्दा बढीको दाबी पर्दा शतप्रतिशत नै निर्जीवन बीमा कम्पनीहरुले बेहोर्नुपर्ने भान हुँदा निर्जीवन बीमा सेक्टर घट्न पुगेको पाण्डेको भनाई छ । ‘२० अर्ब भन्दा बढीको दाबी परेपनि निर्जीवन बीमा कम्पनीहरुले शतप्रतिशत भुक्तानी गर्नुपदैन, तर केही लगानीकर्ताहरुमा अब निर्जीवन बीमा कम्पनीहरु डुब्न सक्छन् भन्ने गलत सोचाई रहेको छ’ उनले भने, ‘निर्जीवन बीमा कम्पनीहरुले जोखिम बहन गर्न पुनर्बीमा गरेका हुन्छन् र पुनर्बीमा कम्पनीहरुले पनि विदेशी कम्पनीमा आफ्नो रि इन्स्योरेन्स गरेका हुन्छन्, यसर्थमा सबै रकम नेपाली कम्पनीले बेहोर्नुपर्दैन र लगानीकर्ता आत्तिहाल्नुपर्ने अवस्था पनि छैन ।’
अहिलेको दाबीले बीमा कम्पनीहरुको वित्तीय अवस्थामा सामान्य प्रभाव पारेपनि प्यानिक हुनैपर्ने अवस्था नरहेको पाण्डेले बताए । ‘दाबी रकमको बाँडफाँड गर्दा बीमा कम्पनीहरुले केही प्रतिशत रकम भुक्तानी गर्नुपरे पनि कम्पनी नै जोखिममा हुने अवस्था आउने होइन’ उनले भने, ‘निर्जीवन बीमा कम्पनीहरुको बीमा कोषको आकार र चुक्तापूँजीहरु राम्रो र व्यवसाय पनि विस्तार भइरहेको छ, केही प्रतिशत रकम भुक्तानीमा जाँदा थोरै मुनाफा घट्न सक्ला तर यसरी प्यानिक नै हुनुपर्ने अवस्था छैन र कम्पनीहरुले आफ्नो व्यवसायमा अझै क्रमिक सुधार गर्ने देखिन्छ ।’
बीमा कम्पनीहरुमा दाबी संख्या र दाबी रकम धेरै पर्दा कम्पनीको नगद प्रवाहको अवस्था विग्रन सक्ने ठूलो सम्भावना रहन्छ । एकैपटक धेरै दाबी आउँदा बीमा कम्पनीलाई तत्काल पैसा जुटाउन गाह्रो हुन सक्छ र यसले कम्पनीलाई अन्य वित्तीय दायित्वहरु पूरा गर्न गाह्रो पर्न सक्छ ।
ठूलो बीमा दाबीले बीमा कम्पनीलाई आर्थिक, प्राविधिक र प्रतिष्ठागत रुपमा असर पुर्याउन सक्ने देखिन्छ । त्यसैले बीमा कम्पनीहरु त्यस्तो जोखिमको व्यवस्थापन गर्न पुनर्बीमा, जोखिम मूल्याङ्कन र पूँजी आरक्षित नीति अपनाउने गर्छन् । साथै बीमा कम्पनीहरुले भविष्यमा हुने यस्ता जोखिम बहनका लागि महाविपत्ती कोष र बीमा कोष समेत खडा गरेका हुन्छन् ।
यसरी ठूलो रकमको बीमा दाबी पर्दा बीमा कम्पनीहरुलाई वित्तीय घाटा हुन सक्ने देखिएको छ । यसअघि बाढीपहिरो र तीनकुनेमा भएको हुलदंगाका कारण बीमा कम्पनीहरुमा करोडौं दाबी पर्दा निर्जीवन बीमकहरुको नाफामा प्रभाव पारेको थियो ।