काठमाण्डौ । अमेरिका र इरानबीच स्ट्रेट अफ हर्मुज पूर्ण रूपमा पुनः सञ्चालन गर्ने विषयमा वार्ता अघि बढिरहेका बेला विश्व तेल बजारको आगामी दिशा चीनको नीतिमा निर्भर रहने विश्लेषकहरूले बताएका छन्। विश्वको दोस्रो ठूलो कच्चा तेल उपभोक्ता चीनले आयात घटाउने, विशाल तेल भण्डार प्रयोग गर्ने तथा स्वच्छ ऊर्जाको प्रयोग बढाउने रणनीतिमार्फत मध्यपूर्वी आपूर्ति अवरोधको प्रभावलाई उल्लेखनीय रूपमा कम गरेको छ।
इरान युद्धका कारण दैनिक १ करोडभन्दा बढी ब्यारेल तेल आपूर्ति प्रभावित भए पनि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य अपेक्षित रूपमा नबढेको विश्लेषकहरूको भनाइ छ। चीनले आफ्नो रणनीतिक तथा व्यावसायिक भण्डारबाट तेल प्रयोग गर्दै आयात घटाएकाले विश्व बजारमा माग कम भएको र मूल्य नियन्त्रणमा सहयोग पुगेको बताइएको छ।
विश्लेषकहरूका अनुसार चीनसँग एक अर्ब ब्यारेलभन्दा बढी तेल भण्डार रहेको छ। साथै, विद्युतीय सवारीसाधनको तीव्र विस्तारले पनि तेलको माग घटाउन मद्दत गरेको छ। चीनमा अहिले बिक्री हुने नयाँ यात्रुवाहक सवारीमध्ये करिब आधा विद्युतीय वा नयाँ ऊर्जा प्रविधिमा आधारित छन्।
यसबीच, स्ट्रेट अफ हर्मुज पुनः सञ्चालन हुने अपेक्षासँगै अन्तर्राष्ट्रिय तेल मूल्यमा दबाब देखिएको छ। बजार विश्लेषकहरूले जलमार्ग पूर्ण रूपमा खुलेपछि लाखौँ ब्यारेल अवरुद्ध तेल पुनः बजारमा प्रवेश गर्ने र आपूर्ति बढ्न सक्ने बताएका छन्।
अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईइए) ले पनि आगामी वर्ष तेल आपूर्ति वृद्धिदर मागभन्दा उच्च रहने प्रक्षेपण गरेको छ। मध्यपूर्वी उत्पादन सामान्य अवस्थामा फर्किएसँगै बजारमा अतिरिक्त आपूर्तिको अवस्था सिर्जना हुन सक्ने एजेन्सीको अनुमान छ।
यद्यपि, चीनले फेरि ठूलो परिमाणमा तेल खरिद गर्ने वा नगर्ने निर्णयले विश्व बजारको सन्तुलन निर्धारण गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्लेषकहरूको निष्कर्ष छ। यदि चीनले मूल्य घटेका बेला पुनः भण्डारण बढायो भने अतिरिक्त आपूर्तिको ठूलो हिस्सा उसैले लैजान सक्ने बताइएको छ।

