काठमाण्डौ । विस्तार हुन लागेको मन्त्रिपरिषदमा स्वास्थ्य मन्त्रीको रुपमा सिफारिस भएकी डा. संगीता कौशल मिश्राको नियुक्ती रोकिने भएको छ । मिश्राविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचार अभियोगमा छानबिन गरिरहेकाले प्रधानमन्त्री सुशीला कार्की उनको नियुक्ती अघि नबढाउने भएकी हुन् ।
आइतबार प्रधानमन्त्री कार्कीले उनलाई स्वास्थ्य तथा जनसंख्या मन्त्री सिफारिस गरेकी थिइन्। मन्त्री नियुक्त गर्न उनको नाम राष्ट्रपति कार्यालयमा समेत पठाइएको थियो।
प्रधानमन्त्री कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्दैछिन् । कार्कीले आइतबार उद्योग मन्त्रालयमा अनिलकुमार सिन्हा, स्वास्थ्य मन्त्रालयमा संगीता कौशल मिश्र, कृषि मन्त्रालयमा मदन परियार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा महावीर पुनको नाम सिफारिस गरेकी थिइन् । नवनियुक्त मन्त्रीहरुको शपथ आज दिउँसो दुई बजे हुने कार्यक्रम रहेको छ ।