काठमाण्डौ । देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागमा सरदर स्थानको आसपास तथा पश्चिम भूभागमा सरदरभन्दा उत्तरतर्फ अवस्थित रहेको छ।
हाल कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहेको छ भने मधेश, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा आंशिक बदली रहेको छ। बागमती प्रदेशका केही स्थान तथा कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार बुधबार दिउँसो देशका हिमाली तथा पहाडी भूभागमा सामान्यदेखि पूर्ण बदली रहनेछ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा पनि सामान्य बदली रहने सम्भावना छ भने कोशी र मधेश प्रदेशका तराई क्षेत्रमा आंशिक बदली रहनेछ।
देशका हिमाली भूभागका केही स्थानमा मध्यम वर्षासँगै हिमपात हुने सम्भावना रहेको छ। पहाडी भूभागका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
साथै, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा कोशी र मधेश प्रदेशका थोरै स्थानमा पनि मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्ने अनुमान गरिएको छ।
कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा पनि भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने पूर्वानुमान गरिएको छ। हिमाली भूभागका थोरै स्थानमा मध्यम वर्षा तथा हिमपात, पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा तराईका थोरै स्थानमा पनि वर्षाको सम्भावना रहेको छ।
महाशाखाका अनुसार आज राति विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले ती क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको छ।

