काठमाण्डौ । दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (ईपीएस)अन्तर्गत आवेदन दिने नेपाली सेवाग्राहीको चाप बढेपछि राहदानी विभागले विद्युतीय राहदानी सेवा दुई सिफ्टमा सञ्चालन गर्ने भएको छ।
राहदानी विभागले बुधबार सूचना जारी गर्दै साउन १४ गतेदेखि २२ गतेसम्म सेवा अवधि विस्तार गरी दुई सिफ्टमा राहदानी सेवा उपलब्ध गराउने जनाएको हो।
विभागका अनुसार साउन १४ गतेदेखि १८ गतेसम्म पहिलो सिफ्ट बिहान ७ बजेदेखि दिउँसो २ बजेसम्म र दोस्रो सिफ्ट दिउँसो २ बजेदेखि बेलुकी ९ बजेसम्म सञ्चालन हुनेछ।
त्यसैगरी, सार्वजनिक बिदाका दिन शनिबार र आइतबारसमेत बिहान १० बजेदेखि बेलुकी ४ बजेसम्म राहदानी सेवा प्रदान गरिने विभागले जनाएको छ।
गत सातादेखि विशेषगरी दक्षिण कोरियाको ईपीएस कार्यक्रमका लागि आवेदन दिने सेवाग्राहीको संख्या उल्लेख्य रूपमा बढेपछि सेवाग्राहीलाई सहज र समयमै राहदानी उपलब्ध गराउने उद्देश्यले सेवा अवधि विस्तार गरिएको विभागको भनाइ छ।

