काठमाण्डौ । भदौ २३ र २४ गतेको जेनजीहरुको आन्दोलनले पुगेको क्षतिबाट निर्जीवन बीमा कम्पनीहरुमा २२ अर्ब भन्दा बढीको बीमा दाबी परेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार असोज ५ गतेसम्ममा निर्जीवन बीमा कम्पनीहरुमा २२ अर्ब २५ करोडा ६५ लाख रुपैयाँको बीमा दाबी परेको छ ।
प्राधिकरणका अनुसार ठूला निर्जीवन बीमक र लघुबीमा गरी कुल १८ वटा कम्पनीमा कुल २ हजार ४७८ वटा दावी परेको छ । सबैभन्दा बढी दि. ओरियन्टल इन्स्योरेन्स कम्पनीमा ७३ वटा बीमाको कुल ५ अर्ब २२ करोड ९८ लाख रुपैयाँ बराबरको बीमा दाबी परेको छ । स्रोतका अनुसार जेनजी आन्दोलनमा कारण क्षति पुगेको हिल्टन होटलको बीमा दाबी ओरियन्टल इन्स्योरेन्समा रहेको कारण ठूलो रकमको बीमा दाबी परेको हो ।
त्यस्तै, सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा पनि कुल २७९ वटा बीमाको कुल ५ अर्ब ८ करोड रुपैयाँ बराबरको बीमा दाबी परेको छ भने आइजीआई प्रुडेन्सियल इन्स्योरेन्समा १७० वटा बीमाको २ अर्ब ७६ करोढड ८४ लाख रुपैयाँ बराबरको बीमा दाबी परेको छ । सबैभन्दा थोरै बीमा दाबी पर्ने कम्पनीमा प्रभु इन्स्योरेन्स र नेशनल इन्स्योरेन्स रहेको छ । प्रभुमा १०२ वटा बीमाको २० करोड ३६ लाख रुपैयाँ र नेशनल इन्स्योरेन्समा २० वटा बीमाको ६ करोड ८४ लाख रुपैयाँ बराबरको बीमा दाबी परेको प्राधिकरणले जनाएको छ ।
यता लघुबीमातर्फ भने प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्समा १ करोड १३ लाख, स्टार माइक्रो इन्स्योरेन्समा ७२ लाख, ट्रस्ट माइक्रो इन्स्योरेन्समा ४४ लाख र नेपाल माइक्रो इन्स्योरेन्समा ४१ लाख रुपैयाँ बराबरको बीमा दाबी परेको छ । प्राधिकरणका अनुसार सम्पत्ति बीमातर्फ सबैभन्दा बढी दाबी परेको छ । जसमा ५३८ वटा सम्पत्ति बीमाको कुल १८ अर्ब ६१ करोड ८ लाख रुपैयाँ बराबरको दाबी परेको छ ।
त्यस्तै, मोटर बीमातर्फ १ हजार ७७८ वटा दाबीको २ अर्ब ९५ करोड २६ लाख, इन्जिनियरिङ्ग तथा ठेकेदार जोखिमतर्फ १३२ वटा दाबीको ३३ करोड ३६ लाख, परिवहन बीमातर्फ ११ वटा दाबीको १ करोड ५५ लाख रुपैयाँ र अन्य बीमातर्फ १९ वटा दाबी वापत ३४ करोड ३८ लाख रुपैयाँ बराबरको बीमा दाबी परेको छ ।
