काठमाण्डौ । साउन महिनाको तुलनामा भदौ महिनामा पूँजीबजारबाट सरकारले राजस्व ७२ प्रतिशतले घटेको छ । जेनजी आन्दोलनको कारण गत भदौ २३ गते देखि असोज २ गतेसम्म सेयर कारोबार बन्द रहेको थियो । यसकारण सेयर बजारबाट संकलन हुने राजश्वमा भारी गिरावट आएको हो ।
साउन महिनामा नेपाल सरकारले पूँजीबजारबाट २ अर्ब १६ करोड बराबारको राजस्व संकलन गरेको थियो । तर भदौ महिनामा भने सरकारले पूँजीबजारबाट जम्मा ६० करोड १५ लाख मात्रै राजश्व संकलन गर्न सकेको छ । सीडीएसीले दिएको तथ्यांक अनुसार भदौ महिनामा व्यक्तिगततर्फ अल्पकालिन लगानीकर्ताहरुले २० करोड ८१ लाख ६५ हजार र दीर्घकालिन लगानीकर्ताहरुले ३२ करोड ८८ लाख रुपैंया लाभकर तिरेका छन् ।
त्यसैगरि, संस्थागत लगानीकर्ताहरुले ६ करोड ४५ लाखबराबरको राजश्व तिरेका छन् । यो भनेको अघिल्लो महिनाको तुलनामा निकै कम हो ।
धितोपत्र ऐनअनुसार एक वर्ष भन्दा कम समय अवधिमा सेयर बेच्नेलाई अल्पकालिन र एक वर्षभन्दा बढी समय अवधिमा सेयर बेच्नेलाई दीर्घकालिन लगानीकर्ता भनेर छुट्टाइएको छ । जसअनुसार अल्पकालिन लगानीकर्ताले ७.५ प्रतिशत र दीर्घकालिन लगानीकर्ताले ५ प्रतिशत कर तिर्दै आएका छन् । संस्थागत लगानीकर्ताहरुले भने हाल १० प्रतिशत कर तिर्दै आएका छन् ।