काठमाण्डौ । युरी टिलेमान्सले अतिरिक्त समयको १२५औँ मिनेटमा पेनाल्टीमार्फत निर्णायक गोल गरेपछि बेल्जियमले दुई गोलले पछि परेको अवस्था उल्टाउँदै सेनेगललाई ३–२ ले पराजित गर्दै फिफा विश्वकपको अन्तिम १६ मा स्थान बनाएको छ।
बुधबार सिएटलमा सम्पन्न अन्तिम–३२ को प्रतिस्पर्धामा सेनेगलले सुरुदेखि नै उत्कृष्ट प्रदर्शन गर्दै खेलमा स्पष्ट पकड बनाएको थियो। हाबिब डिआराले २५औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए भने दोस्रो हाफको ५१औँ मिनेटमा इस्माइला सारले आकर्षक गोल गर्दै अग्रता दोब्बर बनाए।
दुई गोलले पछि परेको बेल्जियम खेलबाट बाहिरिने अवस्थामा पुगेको देखिए पनि अन्तिम क्षणमा अविश्वसनीय पुनरागमन गर्न सफल भयो। ८६औँ मिनेटमा वैकल्पिक खेलाडी रोमेलु लुकाकुले गोल गर्दै अन्तर घटाए भने त्यसको केही मिनेटपछि युरी टिलेमान्सले हेडमार्फत बराबरी गोल गर्दै खेललाई अतिरिक्त समयमा पुर्याए।
अतिरिक्त समयको अन्तिम क्षणमा भिडियो सहायक रेफ्री (भीएआर) को समीक्षा पछि बेल्जियमले पेनाल्टीको अवसर पायो। लमिन कामाराले टिलेमान्समाथि फउल गरेपछि प्राप्त पेनाल्टीलाई टिलेमान्सले सहज रूपमा गोलमा परिणत गर्दै बेल्जियमलाई रोमाञ्चक ३–२ को जित दिलाए।
पूरै खेलभर प्रभावशाली प्रदर्शन गरेको सेनेगलले दुईपटक पोस्टमा बल लाग्दा पनि थप गोल गर्न सकेन। उत्कृष्ट प्रदर्शनका बाबजुद अन्तिम क्षणमा अग्रता जोगाउन नसक्दा अफ्रिकी टोलीको विश्वकप यात्रा समाप्त भएको छ।
यस जितसँगै बेल्जियमले अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ। अब बेल्जियमले अमेरिका र बोस्निया तथा हर्जेगोभिनाबीच हुने अन्तिम–३२ को विजेतासँग प्रतिस्पर्धा गर्नेछ।

