काठमाण्डौ । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपाल (आइक्यान) द्वारा आयोजित राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड(बीपीए) २०२५ अन्तर्गत सूचना तथा प्रविधि क्षेत्रमा ‘सर्टिफिकेट अफ मेरिट’ प्राप्त गरेको छ।
उक्त सम्मान एनसीएचएलको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन तथा प्रकटीकरणहरूको मूल्याङ्कनका आधारमा प्रदान गरिएको हो। आइक्यानले संस्थाको वित्तीय प्रतिवेदन, सुशासन, पारदर्शिता तथा सूचना प्रकटीकरण अभ्यासलाई उच्च मूल्यांकन गर्दै उक्त सम्मान प्रदान गरेको जनाएको छ।
बीपीए अवार्डले वार्षिक प्रतिवेदनमार्फत वित्तीय प्रतिवेदन प्रस्तुतिकरण, संस्थागत सुशासन र पारदर्शितामा उत्कृष्टता प्रदर्शन गर्ने संस्थाहरूलाई सम्मान गर्दै आएको छ। यस उपलब्धिले एनसीएचएलको निरन्तर पारदर्शिता, उत्तरदायित्व तथा उत्कृष्ट संस्थागत प्रतिवेदन अभ्यासप्रतिको प्रतिबद्धतालाई पुनः पुष्टि गरेको छ।
यो उपलब्धि एनसीएचएलको दीर्घकालीन उत्कृष्टताको निरन्तरता पनि हो। विगतका वर्षहरूमा समेत एनसीएचएलले आइक्यान तथा दक्षिण एसियाली चार्टर्ड एकाउन्टेन्ट्स महासंघ (एसएएफए) बाट उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्डहरू प्राप्त गर्दै आएको छ, जसले संस्थागत सुशासन, वित्तीय पारदर्शिता तथा सरोकारवालासँगको प्रभावकारी सम्पर्कलाई थप मजबुत बनाएको एनसीएचएलले जनाएको छ।
राष्ट्रिय भुक्तानी प्रणाली पूर्वाधार प्रदायक संस्थाका रूपमा एनसीएचएलले इलेक्ट्रोनिक चेक क्लियरिङ (ईसीसी), अन्तर बैंक भुक्तानी प्रणाली (आईपीएस), रिटेल पेमेन्ट स्विच (आरपीएस), राष्ट्रिय पेमेन्ट स्विच, कनेक्टआरटीजीएस, राष्ट्रिय भुक्तानी इन्टरफेस (एनपीआई), कनेक्टआईपीएस, कर्पोरेटपे, नेपालपे क्यूआर, ईएफटी कार्ड स्विच तथा सेवा, र नेपालपे कार्ड लगायतका सेवा सञ्चालन गर्दै आएको छ।
हाल यसमा ५२ वटा बैंक तथा वित्तीय संस्था तथा १२५ भन्दा बढी अप्रत्यक्षरप्राविधिक सदस्यहरू (बीमा कम्पनी, रेमिट्यान्स, मर्चेन्ट बैंक, भुक्तानी सेवा प्रदायक, भुक्तानी प्रणाली सञ्चालक, सरकारी तथा अर्धसरकारी निकायहरू लगायत) आबद्ध रहेका छन्।

