काठमाण्डौ । प्रतिनिधिसभाबाट आज चारवटा अध्यादेश प्रतिस्थापन विधेयक पारित गर्ने कार्यसूची तय भएको छ।
बैठकमा सार्वजनिक खरिद, सम्पत्ति शुद्धीकरण निवारण, सहकारी र स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी विधेयकमाथि दफावार छलफल गरी पारित गर्ने तयारी गरिएको हो।
कार्यसूचीअनुसार प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानुनमन्त्री सोविता गौतमले सार्वजनिक खरिद दोस्रो संशोधन विधेयक, २०८३ पेश गर्नेछिन्।
त्यस्तै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सम्पत्ति शुद्धीकरण निवारण तेस्रो संशोधन विधेयक, २०८३ माथि छलफल र पारित गर्ने प्रस्ताव राख्नेछन्।
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले सहकारी पहिलो संशोधन विधेयक, २०८३ र स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक, २०८३ पेश गर्ने कार्यसूची छ।
यी सबै विधेयकमा प्राप्त संशोधनहरू निर्णयार्थ पेश गरी आजै पारित गर्ने संसद् सचिवालयको तयारी छ।

