काठमाण्डौ । संयुक्त अरब इमिरेट्स (युएई) सरकारले भिजिट भिसा सम्बन्धी नयाँ नियम लागू गरेको छ, जसअनुसार अब परिवार, आफन्त वा साथीलाई युएई बोलाउन चाहने व्यक्तिको आम्दानी पर्याप्त र प्रमाणित हुनुपर्नेछ।
नयाँ व्यवस्थाअनुसार स्पोन्सरको मासिक पारिश्रमिक कम्तीमा चार हजारदेखि १५ हजार दिरामसम्म हुनुपर्ने प्रावधान गरिएको छ। तलबको सीमा सम्बन्ध अनुसार फरक–फरक तय गरिएको छ।
यदि कसैले आफ्ना बुबा–आमा, श्रीमान–श्रीमती वा छोराछोरीलाई भिजिट भिसामा बोलाउन चाहन्छ भने उनको मासिक तलब न्यूनतम ४ हजार दिराम हुनुपर्नेछ।
त्यस्तै हजुरबा–हजुरआमा, दाजुभाइ, दिदीबहिनी, नाति–नातिनी, काका–काकी, मामा वा फुपू जस्ता आफन्तलाई लैजान चाहने स्पोन्सरको मासिक तलब ८ हजार दिराम हुनुपर्नेछ।
नातेदार बाहेक साथी वा परिचितलाई घुम्नका लागि भिजिट भिसामा बोलाउन चाहिने तलब दर अझै उच्च तोकिएको छ — कम्तीमा १५ हजार दिराम मासिक आम्दानी आवश्यक हुनेछ।
भिजिट भिसा आवेदन दिने व्यक्तिले सम्बन्ध प्रमाणित कागजातका साथै छ महिनाभन्दा बढी म्याद भएको पासपोर्ट र फिर्ती टिकट पनि अनिवार्य रूपमा बुझाउनुपर्नेछ।
युएईका सञ्चार माध्यमहरूका अनुसार, यो नयाँ नीति भिजिट भिसा प्रणालीमा पारदर्शिता र व्यवस्थापन सुधार ल्याउनका लागि लागू गरिएको हो।