काठमाण्डौ । चिनियाँ अटो निर्माता कम्पनी बीवाईडीका लागि बेलायत चीन बाहिरको सबैभन्दा ठूलो बजार बनेको छ । बेलायमा बीवाईडीको बिक्री सेप्टेम्बर महिना अघिल्लो वर्षको तुलनामा ८८० प्रतिशतले बढेसँगै सबैभन्दा ठूलो बजार बनेको हो ।
कम्पनीका अनुसार गत महिना बेलायतमा ११ हजार २७१ युनिट कार बिक्री भएका छन् । यो बिक्रीमध्ये कम्पनीको प्लग इन हाईब्रिड भर्जन सर्वाधिक बिक्री भएको छ ।
बेलायतले चीनमा निर्मित ईभीमाथि ट्यारिफ नलगाएकाले बीवाईडी यहाँका लागि राम्रो बजार बन्न पुगेको छ । पश्चिमा प्रतिष्पर्धिहरु भन्दा निकै सस्तो दरमा कार बिक्री गरिरहेको बीवाईडीले बेलायतमा आफ्नो बजार हिस्सा ३.६ प्रतिशत पुगेको जनाएको छ ।
कम्पनीले आगामी दिनमा नयाँ–नयाँ हाईब्रिड तथा ईभी मोडलका कारहरु लञ्च गर्ने योजना रहेको समेत जनाएको छ ।