काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघले कर्जाको साँवाब्याज भुक्तानी समयसीमा थप गर्न नेपाल राष्ट्र बैंकसँग आग्रह गरको छ ।
महासंघका कार्यबाहक अध्यक्ष अञ्जन श्रेष्ठको नेतृत्वमा बुधबार राष्ट्रबैंक गएको महासंघको टोलीले राष्ट्रबैंकका कार्यबाहक गभर्नर डा.निलम ढुङ्गाना तिम्सिनालाई भेटेर सो आग्रह गरेको हो ।
महासंघले चालु आर्थिक वर्षको प्रथम त्रैमास (असोज मसान्त)मा कर्जाको साँवाब्याजको किस्ता बुझाउने समय नजिकिंदै गर्दा देशका विभिन्न भागहरुमा भएका आन्दोलन, विरोध प्रदर्शन, तोडफोडका घटना लगायत अविरल वर्षा तथा बाढीपहिरोले देशको पूर्वी एवम् मध्यभागमा क्षति पुगेकोले क्षतिले ऋणिहरुलाई समयमै किस्ता बुझाउन समस्या भएकोले साँवाब्याज भुक्तानीको समयसीमा थप गर्न नेपाल राष्ट्र बैंकसँग आग्रह गरिएको महासंघका कार्यबाहक अध्यक्ष अन्जन श्रेष्ठले जानकारी दिए ।
उनले यो समयमा भएका यी घटनाबाहेक नेपालीहरुको महान चाड दशैंको कारण लामो समय सार्वजनिक विदा पर्न गएको र ऋणिहरुलाई समयमै किस्ता बुझाउन समस्या भएकोले समय थपको लागि पहल गरिदिन महासंघका सदस्य संघ संस्थाहरुबाट समेत अनुरोध भइआएकोले राष्ट्र बैंकसमक्ष सो आग्रह गरिएको बताए ।
सो अवसरमा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्र तथा महासंघका उपाध्यक्षद्वय सुरकृष्ण वैद्य, हेमराज ढकाल र कोषाध्यक्ष भरतराज आचार्य सहभागी थिए ।
एफएनसीसीआईको अनुरोधलाई स्वीकार गरेर केन्द्रीय बैंकले साँवाब्याज तिर्ने समय थप गरेमा यस्तो सुविधाबाट सेयर लगानीकर्ता पनि लाभान्वित हुनेछन् ।