काठमाण्डौ । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेञ्च(नेप्से) परिसूचक दोहोरो अंकले बढेको छ ।
अघिल्लो दिनको सामान्य अंकको करेक्सनपश्चात आज नेप्से परिसूचक १.३३ प्रतिशत अर्थात ३४.२२ अंकले बढेर २ हजार ६००.३८ विन्दुमा पुगेको हो ।
नेपाल इन्भेष्टर्स फोरमका उपाध्यक्ष राजन लम्सालका अनुसार ‘यसअघि विशेषगरी जेनजी आन्दोलनले सेयरबजारलाई प्रत्यक्ष प्रभाव पारेका कारण बजार बढ्न सकेको थिएन । आन्दोलनले नेपालको आर्थिक क्षेत्रलाई समेत बिथोलेको थियो । तर अहिले केही हदसम्म शान्त भइसकेको र नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई पनि सेयर लगानीमा केही खुकुलो नीति ल्याएका कारण लगानीकर्तामा आत्मविश्वास बढ्न थालेको उनको तर्क छ ।
'अब बजार जति घट्नुपर्ने थियो घटिसक्यो यहाँभन्दा तल आउँदैन । विस्तारै बजार माथि जानेछ ।’ उनले थपे ।
त्यस्तै, अर्का बजार जानकार नयन बास्तोलाले पनि लगानीकर्ताहरुमा आत्मविश्वास बढ्दा सेयरबजार बढ्न थालेको बताए । उनी भन्छन्, ‘तिहारपछि ४ कारोबार दिनमा तीन दिन सेयरबजार बढ्नुको कारण भनेकै लगानीकर्तामा कन्फिडेन्ट बढ्नु हो । लगानीकर्तामा अब पनि आत्मविश्वास नबढे कहिले बढ्ने त ?'
उनको विचारमा बजारप्रति आत्मविश्वास बढाउनुपर्ने थुप्रै कारणहरु पनि छन् । राजनीतिक विषयले मात्रै बजारलाई असर पारेको थियो तर अब त्यो पनि केही हदसम्म साम्य भइसकेको बताए ।
उनका अनुसार केही सेयर विज्ञहरुले पनि बजारमा भ्रम पैदा गरेका कारण साना लगानीकर्ताहरुको मनोविज्ञानमा नकारात्मक प्रभाव परेको थियो । तर त्यो भ्रम समेत चिरिएपछि बजार अझै माथि जाने सम्भावना रहेको उनको भनाई छ ।
आज के-के भयो बजारमा ?
यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.२० प्रतिशतले बढेर ४५२.८१ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृतमध्ये ३१९ वटा स्क्रिप्टको २ करोड ६० लाख १० हजार ७१८ कित्ता सेयर ७ अर्ब ५१ करोड ३९ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये एउटाबाहेक अन्य सबैमा हरियाली छायो । आज हाईड्रोपावर समूह सर्वाधिक बढ्यो । यो समूह आज २.६७ प्रतिशतले बढ्यो ।
यस्तै आज बैंकिङ समूह ०.३३, विकास बैंक समूह १.२३, फाइनान्स १.६०, होटल ०.७५, लगानी १.३५,जीवन बीमा १.८०, उत्पादन तथा प्रशोधन १.७४, निर्जीवन बीमा १.७५,अन्य १.०६ र व्यापार समूह ०.८८ प्रतिशतले बढ्यो ।
म्युचुअल फण्ड समूह आज घट्ने एक्लो समूहको रुपमा रह्यो यो समूह आज ०.१८ प्रतिशतले रातो भयो ।
धेरै कारोबार गर्ने कम्पनीहरु
यो दिन हिमालयन बैंकको प्रोमोटर सेयरको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको प्रोमोटर सेयरको १ अर्ब ६६ करोड बढीको कारोबार भयो । राधी विद्युतको पनि आज ३७ करोड ६० लाख, नेपाल पुनर्बीमाको ३४ करोड १० लाख, साहस उर्जाको २० करोड ६० लाख र बुटवल पावरको २० करोड १४ लाख बढीको सेयर कारोबार भयो ।
धरै कमाउने र गुमाउने कम्पनीहरु
आज नेप्सेमा कारोबार भएका ३ वटा कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । आज गुराँस लघुवित्त, उन्नती सहकार्य लघुवित्त र सुपर मादी हाईड्रोपावरको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।
अन्य सर्वाधिक कमाउने कम्पनीको रुपमा गणपति लघुवित्त, पिपुल्स हाईड्रोपावर र नेपाल माइक्रो इन्स्योरेन्स रहे । यी कम्पनीहरुको सेयरमूल्य क्रमशः९.४६,९.०८ र ८.१६ प्रतिशतले बढ्यो ।
आशा लघुवित्तका लगानीकर्ताले आज सर्वाधिक गुमाए । यो कम्पनीका लगानीकर्ताको सम्पत्ति आज ४.७६ प्रतिशतले घट्यो।
यसैगरी उपकार लघुवित्तको सेयरमूल्य ३.९६ र हिमालयन पावर पार्टनरको सेयरमूल्य ३.७५ प्रतिशतले घट्यो ।

