काठमाण्डौ । आम्दानी घटेसँगै र खर्च बढेसँगै हिमालय उर्जा विकास कम्पनी लिमिटेडको नाफामा कमी आएको छ । कम्पनीले चालु आवको पहिलो त्रैमाससम्म ६ करोड ६२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ४७.५५ प्रतिशतले कम हो । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले १२ करोड ६२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
कम्पनीको कुल आम्दानी २१.१८ प्रतिशतले घटेको छ । कम्पनीले समीक्षा अवधिसम्म १८ करोड ७८ लाख रुपैयाँबराबरको कुल आम्दानी गरेको छ । अघिल्लो आवमा कम्पनीको आम्दानी २३ करोड ८३ लाख रहेको थियो । कम्पनीको रोयल्टी खर्च ३७ लाख ५५ हजार रहेको छ । यस्तै प्रशासनिक तथा अन्य प्रत्यक्ष खर्च १ करोड ८५ लाखबाट बढेर ४ करोड ९१ लाख पुगेको छ ।
यद्यपी कम्पनीको वित्त खर्च भने घटेको छ । अघिल्लो आवमा ५ करोड ६७ लाख रहेको वित्त खर्च ३ करोड ४८ लाखमा सीमित बनेको छ ।
यो अवधिसम्म कम्पनीको रिजर्भको आकार भने १२ करोड रुपैयाँले ऋणात्मक अवस्थामा छ ।
यस्तै कम्पनीको कुल चालु सम्पत्ति २९ करोड १९ लाख र कुल चालु दायित्व २ लाख ४४ हजार रहेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) ३.३५ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ९३.९४ रुपैयाँ र प्रतिसेयर कुल सम्पत्तिको मूल्य १८३.५७ रुपैयाँ कायम भएको छ ।

