काठमाण्डौ । पिपुल्स पावर लिमिटेडको विद्युत बिक्री आम्दानी बढ्दा पनि खर्च नियन्त्रण गर्न नसक्दा नाफामा गिरावट आएको छ । कम्पनीले चालु आवको पहिलो त्रैमाससम्म १ करोड २६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा २६.७१ प्रतिशतले कम हो । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले १ करोड ७२ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।
कम्पनीले समीक्षा अवधिसम्म विद्युत बिक्रीमार्फत ३ करोड १७ लाख रुपैयाँ आम्दानी गरेको छ । जुन अघिल्लो आवको तुलनामा ५.३३ प्रतिशतले बढी हो । अघिल्लो आवको पहिलो त्रैमाससम्म कम्पनीले विद्युत बिक्रीमार्फत ३ करोड १ लाख रुपैयाँ आर्जन गरेको थियो ।
कम्पनीको प्रशासनिक खर्च ३०९.३२ प्रतिशतले बढ्दै ३९ लाख ९५ हजार पुगेको छ । यद्यपी कम्पनीको वित्त खर्च भने ७६ लाख २५हजार रुपैयाँबाट घटेर २८ लाख ९७ हजारमा सीमित बनेको छ । कम्पनीको रिजर्भको आकार ६५ लाख ६३ हजार रुपैयाँले ऋणात्मक अवस्थामा छ । यस्तै कम्पनीको कुल चालु सम्पत्ति ११ करोड ९९ लाख र कुल चालु दायित्व २१ लाख २९ हजार रुपेयाँ छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)५.३२ रुपैयाँ,प्रतिसेयर नेटवर्थ १०६.२० रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १०६.४३ रुपैयाँ र तरलता अनुपात ५६.३२ प्रतिशत कायम भएको छ ।

