काठमाण्डौ । शिव शंकर हाईड्रो इन्भेष्टमेन्ट लिमिटेडले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न वार्षिक साधत्रारण सभा आयोजना गर्ने भएको छ । मंसिर १ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले यही मंसिर २९ गते काठमाण्डौको मिनभवनमा रहेको कम्पनी रजिष्टर्डको कार्यालयमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।
उक्त सभामा कम्पनीको चुक्तापूँजीको २० प्रतिशत आईपीओ जारी गर्ने सम्बन्धमा हालसम्म भएका कार्यलाई अनुमोदन गर्ने तथा अन्य आवश्यक प्रक्रिया पूरा गर्ने प्रस्ताव पारित गरिनेछ ।
यस्तै कम्पनीको गत आवको वार्षिक प्रतिवेदन तथा अन्य सम्पूर्ण वित्तीय विवरणहरु समेत पारित गरिनेछ ।
कम्पनीले लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त समेत गरिसकेको छ ।
शिव शंकर हाईड्रो इन्भेष्टमेन्ट लिमिटेड, शिव शंकर इन्भेष्टमेन्ट प्रालि र जय गणेश इन्भेष्टमेन्ट प्रालि एक आपसमा गाभिएर स्थापित भएको एक लगानी (इन्भेष्टमेन्ट) कम्पनी हो । जसले मुख्यतया जलविद्युत, पुर्वाधार क्षेत्र र अन्य उत्पादनशील क्षेत्रमा आफ्नो लगानीको दायरा केन्द्रित गरेको छ । हाल कम्पनीले सानिगार्ड हाइड्रो लिमिटेड (३८.४६ मेगावाट), कलंगा हाइड्रो लिमिटेड (१५.३३ मेगावाट),बुङ्गल हाइड्रो लिमिटेड (१०.७ मेगावाट) र भिजन ईनर्जी एण्ड पावर लिमिटेड (५७.५ मेगावाट) नामक जलबिद्युत कम्पनीहरुमा लगानी गरेको छ । उल्लेखित कम्पनीहरुमध्ये पहिलो तीन कम्पनीहरु सञ्चालनमा आईसकेको र प्राथमिक सेयर निष्काशनको प्रक्रियाका लागि नेपाल धितोपत्र बोर्डमा दर्ता भईसकेको छ ।

