काठमाण्डौ। आफ्ना माग सुनुवाइ गराउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भेट्न पुगेका दृष्टिविहीन सडक व्यवसायीहरूले भेट गर्न नपाएपछि पार्टीको वनस्थलीस्थित केन्द्रीय कार्यालयअघि प्रदर्शन गरेका छन्।
आफ्ना समस्या र माग प्रत्यक्ष रूपमा राख्न रास्वपा कार्यालय पुगेका उनीहरू सभापति लामिछानेलाई भेट्न नपाएपछि आक्रोशित बनेका थिए। कार्यालयभित्र प्रवेश गरेर भेट गर्ने प्रयासका क्रममा सुरक्षाकर्मीले रोकेपछि केहीबेर कार्यालय परिसर तनावग्रस्त बनेको थियो।
आन्दोलनमा सहभागी दृष्टिविहीन व्यवसायीहरूले आफूहरूलाई सभापतिसँग भेट गराइने आश्वासन दिइए पनि अन्तिम समयमा त्यसको व्यवस्था नगरिएको आरोप लगाएका छन्। सुरक्षाकर्मीले आफूहरूलाई झुक्याएको उनीहरूको गुनासो छ।
दृष्टिविहीन सडक व्यवसायीहरूले पछिल्लो समय महानगरपालिका र सरकारी निकायले सडक व्यापारमाथि कडाइ गरेपछि आफ्नो जीविकोपार्जन नै संकटमा परेको बताएका छन्। राज्यले गाँस, बास र कपासको न्यूनतम सुरक्षा सुनिश्चित गर्न नसकेको मात्रै होइन, सडकमा सानो व्यापार गरेर जीवन धान्ने अवसरसमेत खोसिएको उनीहरूको आरोप छ।
उनीहरूले आफूहरूको रोजीरोटीको अधिकार सुरक्षित गर्न, वैकल्पिक व्यवस्थासहित सम्मानजनक रोजगारीको सुनिश्चितता गर्न तथा सम्बन्धित निकायले तत्काल वार्तामार्फत समस्या समाधान गर्न माग गरेका छन्।

