काठमाण्डौ । आन्तरिक राजस्व विभागले चालु आर्थिक वर्ष २०८२/८३ का लागि लक्ष्य निर्धारण गरिएका पूर्ण कर परीक्षणको काम नरोकिने जनाएको छ । विभागले एक विज्ञप्ति जारी गर्दै विभागअन्तर्गतका ठूला करदाता कार्यालय, मध्यमस्तरीय करदाता कार्यालय र आन्तरिक राजस्व कार्यालयसमेतका लागि चालु आवमा लक्ष्य निर्धारण गरिएका पूर्ण कर परीक्षणको काम नियमित हुने उल्लेख गरेको हो ।
विज्ञप्तिमा चार वर्षमा म्याद जाने फाइल र आयकर ऐनको सूचना दिएर कागजात प्राप्त भएका फाइलको पूर्ण कर परीक्षण नियमित हुने र राजस्व जोखिमका आधारमा मात्र करदाताको कर परीक्षण हुने जनाएको छ ।
अर्थमन्त्री रामेश्वरप्रसाद खनालले व्यवसायीलाई तर्साउने गरी सरकारले पूर्ण कर परीक्षण नगर्ने बताएपछि त्यसबारे बढेको चासोको सन्दर्भमा विभागले औपचारिक रूपमा प्रस्ट पारेको हो ।


