काठमाण्डौ। नागढुंगा–सिस्नेखोला सुरुङमार्गको शिलालेखलाई लिएर उठेको विवाद समाधान गर्न सरकारले पुरानो शिलालेख पुनःस्थापना गर्ने तयारी गरेको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले विगतका योगदानलाई सम्मान गर्दै शिलान्यासका क्रममा राखिएको शिलालेख पुनःस्थापना गरिने बताएका छन्।
सुरुङमार्ग उद्घाटनपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री लम्सालले शिलालेख हटाइएको नभई निर्माण प्रक्रियाका क्रममा सुरक्षित स्थानमा राखिएको र पछि हराएको दाबी गरे।
‘हामीले विगतलाई सम्मान गर्नुपर्छ र गर्छौँ। केही कुरा सञ्चारमाध्यममा आएजस्तो होइन। सुरुङ निर्माणका क्रममा शिलालेख राखिएको स्थानमा संरचना निर्माण गर्नुपर्ने भएपछि त्यसलाई सडक विभागमा सुरक्षित राखिएको रहेछ। पछि जेन–जी आन्दोलनका क्रममा उक्त भवनमा आगलागी भएपछि शिलालेख हराएको जानकारी आएको हो,’ उनले भने।
नयाँ शिलालेखमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको नाम नराखिएको भन्दै सरकारमाथि प्रश्न उठेपछि मन्त्री लम्सालको यस्तो प्रतिक्रिया आएको हो। उद्घाटनका लागि राखिएको शिलालेखमा भने वर्तमान पूर्वाधार मन्त्रीको नाम उल्लेख गरिएको छ।
सरकारले शिलालेख पुनःस्थापनाको निर्णयलाई राजनीतिक विवादभन्दा बाहिर राख्दै पूर्वाधार निर्माणमा संलग्न सबै पक्षको योगदानको सम्मानका रूपमा अघि बढाउने जनाएको छ।
नागढुंगा–सिस्नेखोला सुरुङमार्गको उद्घाटन आज भएको हो । यसलाई नेपालको सडक पूर्वाधार क्षेत्रमा महत्वपूर्ण परियोजनाका रूपमा लिइएको छ। काठमाण्डौ उपत्यकाको यातायात सहज बनाउने उद्देश्यले निर्माण गरिएको यो सुरुङमार्गले नागढुंगा क्षेत्रको सवारी चाप घटाउने अपेक्षा गरिएको छ।

