काठमाण्डौ। नेशनल लाइफ इन्स्योरेन्सले वार्षिक साधारण सभा डाकेको छ । पुस ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले ३८ औं वार्षिक साधारण सभा डाकेको हो । बैठकले आगामी पुस ३० गते बिहान साढे १० बजे काठमाण्डौको लाजिम्पाटमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा सभा आयोजना गर्ने निर्णय गरेको छ ।
उक्त सभामा कम्पनीको सञ्चालक समितिद्वारा प्रस्तावित हाल कायम चुक्तापूँजीको ४ प्रतिशत नगद लाभांश र ८.५ प्रतिशत बोनस सेयर गरी कुल १२.५ प्रतिशत लाभांश वितरणको विशेष प्रस्ताव पारित गरिनेछ । कम्पनीले बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि ०.६५७८९४७४ प्रतिशतका दरले नगद लाभांश समायोजन गर्ने निर्णय गरेकाले बोनस सेयर बापतको कर प्रयोजनका लागि नगद लाभांश स्वीकृत गर्ने प्रस्ताव पारित गरिनेछ ।
सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिने आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। यसैगरी लेखापरीक्षकको प्रतिवेदन सहित आव २०८१/८२ को वासलात नाफा नोक्सान हिसाब, तथा नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गरिनुका साथै चालु आव २०८२/८३ को लेखापरीक्षणका लागि लेखापरीक्षको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने र आव २०८१/८२ मा भएको खर्च अनुमोदन गर्ने प्रस्ताव पारित गरिनेछ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि कम्पनीले पुस १७ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ पुस १६ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीको प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन् ।

