काठमाण्डौ । सुपर खुदी हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाका लागि जारी गरेको आईपीओमा आवेदन दिने समयावधि थप गरिएको छ । उक्त आईपीओ निष्कासन बन्द छिटोमा माघ ६ गते र ढिलोमा माघ २१ गते हुने तय भएको थियो ।
तर अब भने कम्पनीको आईपीओमा माघ २१ गतेसम्म आवेदन दिन सकिने भएको छ ।
कम्पनीले २० करोड रुपैयाँबराबरको रु.१०० अंकित दरका २० लाख कित्ता साधारण सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।
सर्वसाधारणको लागि छुट्याइएको मध्ये जारी पूँजीको १० प्रतिशत अर्थात १५ करोड ५० लाख रुपैयाँबराबरको रु.१०० अंकित दरको १५ लाख ५० हजार कित्ता साधारण सेयरको ४० प्रतिशत अर्थात ६ लाख २० हजार कित्ता लम्जुङ जिल्लाको आयोजना प्रभावित क्षेत्र मर्स्याङ्दी गाउँपालिकाको वडा नं. २ र ३ का स्थानिय बासिन्दाका लागि र बाँकी ६० प्रतिशत अर्थात ९ लाख ३० हजार कित्ता साधारण सेयर मर्स्याङ्दी गाउँपालिका वडा नं. १, ४, ५, ६, ७, ८ र ९ का स्थानिय बासिन्दाका लागि जारी गरिएको छ ।
आयोजना प्रभावित क्षेत्रका बासिन्दाले न्यूनतम १० कित्ता र अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । स्थानिय बासिन्दाले प्रभु बैंक, ग्लोबल आइएमई बैंक, कृषि विकास बैंक र प्राइम कमर्सियल बैंकको बेसीशहर शाखा र हिमालयन बैंकको भुलभुले शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।
कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा ग्लोबल आइएमई क्यापिटल रहेको छ । पहिलो चरणअन्तर्गत वैदेशिक रोजगारीमा रहेका र आयोजना प्रभावित क्षेत्रका बासिन्दका लागि सेयर जारी गरिसकेपछि कम्पनीले दोस्रो चरणमा आम सर्वसाधारणलाई आईपीओ जारी गर्नेछ ।

