काठमाण्डौ । नेपाल राष्ट्र बैंकले निर्वाचन आयोगको अनुरोधअनुसार राजनीतिक दल र उम्मेदवारहरूका लागि छुट्टै बैंक खाता खोल्ने व्यवस्था लागू गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ ।
राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले एक सूचना जारी गर्दै निर्वाचन आयोगद्धारा निर्णय गरी बैंक खाता बन्द गर्न नलगाउँदासम्म सञ्चालन हुने गरी आयोग मातहतका प्रदेश निर्वाचन कार्यालय तथा जिल्ला निर्वाचन कार्यालयहरुको सिफारिसमा आमनिर्वाचन अभियान (वा यस्तै मिल्दो अन्य कुनै) का नेपाली मुद्राको आम्दानी खर्च कारोबार गर्नसक्ने गरी प्रत्येक राजनीतिक दल तथा ती दलबाट प्रतिनिधित्व गर्ने उम्मेदवार (समानुपातिक समेत) एवम् स्वतन्त्र उम्मेदवारहरुलाई छुट्टै एउटा (एक मात्र) बैंक खाता खोली सञ्चालन गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ ।
यसरी खोलिने बैंक खाताको हकमा बैंक तथा वित्तीय संस्थाहरुलाई जारी एकीकृत निर्देशन, २०८२ को निर्देशनमा रहेको बैंक वा वित्तीय संस्थाले प्राकृतिक व्यक्तिको नाममा स्वदेशी मुद्रामा एउटै प्रकृतिको एक भन्दा बढी खाता खोल्न पाइने छैन भन्ने व्यवस्थामा निर्वाचन आयोगबाट उक्त बैंक खाता बन्द गर्न नलगाउँदासम्म छुट प्रदान गरिएको समेत राष्ट्र बैंकले जनाएको छ ।

