काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना कर्मचारीहरूको स्वास्थ्यप्रति प्रतिबद्धता जनाउँदै स्तन क्यान्सर तथा प्रोस्टेट क्यान्सर सम्बन्धी जनचेतनामूलक कार्यक्रम आयोजना गरेकोे छ । यस पहल अन्तर्गत क्यान्सर सम्बन्धी सही जानकारी प्रदान गर्ने, आम भ्रमहरू हटाउने तथा समयमै परीक्षण, रोकथाम र चिकित्सकीय परामर्शको महत्वबारे सचेतना फैलाउने उद्देश्य राखिएको हो ।
मेदान्त द मेडिसिटी अस्पताल, गुडगांव भारतसँगको सहकार्यले यस कार्यक्रमलाई अझ प्रभावकारी र विश्वसनीय बनाएको बैंकको भनाई छ ।
कार्यक्रम अन्तर्गत सबै महिला कर्मचारीहरूका लागि ‘स्तन क्यान्सर सम्बन्धी महिलाले जान्न र अभ्यास गर्नुपर्ने कुराहरू’ विषयक वेबिनार आयोजना गरिएको हो, जसको सहजिकरण डा. कञ्चन कौर, वरिष्ठ निर्देशक स्तन क्यान्सर मेदान्त अस्पतालले गर्नुभएको हो । माघ १३ गते यस कार्यक्रममा कुल ५१३ जना महिला कर्मचारीहरूले सक्रिय रूपमा सहभागिता जनाएका थिए, जसले गर्दा कार्यक्रम अत्यन्तै अन्तरक्रियात्मक र प्रभावकारी बन्न सफल भएको बैंकले जनाएको छ ।
त्यसैगरी, माघ १४ गते ३० वर्ष वा सोभन्दा माथिका पुरुष कर्मचारीहरूका लागि ‘प्रोस्टेट क्यान्सरः भ्रम र यथार्थ’ विषयक सत्र समेत सञ्चालन गरिएको छ । जसमा डा. पुनीत आहुलवालिया, वरिष्ठ निर्देशक मेदान्त अस्पतालले उक्त सत्रको सहजीकरण गर्नुभएको थियो ।
यसमा कुल ५०९ जना कर्मचारीहरूले सक्रिय रूपमा सहभागिता जनाएका थिए । साथै दुवै वेबिनारले कर्मचारीहरूलाई स्वास्थ्यप्रति सचेत बनाउँदै दीर्घकालीन स्वास्थ्य सुरक्षामा योगदान पु¥याउने अपेक्षा बैंकले गरेको छ ।
बैंकले कर्मचारी, ग्राहक तथा अन्य सम्बन्धित निकायहरूका लागि आगामी दिनमा यस्तै सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ । यसैगरि बैंकका ग्राहकहरुलाई उपचारका क्रममा थप सहज सेवा प्राप्त हुने विश्वासले बैंकका कार्ड वाहक ग्राहक महानुभावहरुलाई मेडिसिटी अस्पतालको सेवा शुल्कमा १५ प्रतिशतसम्म छुट उपलब्ध गरिएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनलले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६९ वटा एटीएम, ३ विस्तारित काउन्टर र ४२ वटा शाखा रहित बैंकिङ ईकाइहरुबाट बैंकिङ सेवाहरु प्रदान गर्दै आईरहेको छ ।

