काठमाण्डौ । पुनर्बीमा कम्पनीहरुको चुक्तापूँजी बृद्धि गर्ने समयावधि सकिनै लागेको छ । नेपाल बीमा प्राधिकरणको निर्देशनबमोजिम नेपाल पुनर्बीमा कम्पनी र हिमालयन रि इन्स्योरेन्सले २०८२ माघ मसान्तसम्म २० अर्ब रुपैयाँ चुक्तापूँजी पुर्याउनुपर्नेछ ।
प्राधिकरणको डेडलाइन सकिन अब एक सातामात्रै बाँकी रहँदा दुई पुनर्बीमा कम्पनीले भने हालसम्म चुक्तापूँजी बृद्धिको प्रक्रिया अघि बढाउन सकिरहेका छैनन् ।
प्राधिकरणका अनुसार दुबै कम्पनीले तोकेको पूँजी पुर्याउन हकप्रदको सहारा लिएपनि तत्कालको लागि हकप्रद ल्याउने अवस्था नदेखिएपछि पुनः समायावधि थप गरिने तयारी गरिएको छ ।
नेपाल रि इन्स्योरेन्सले शतप्रतिशत हकप्रद निष्कासन गरी तोकेको पूँजी पुर्याउने योजना प्राधिकरणमा पेश गरेको थियो । तर गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको क्षतिका कारण सरकारले तत्काल सेयर लगानी नगर्ने र नेपाल रि को पूँजी वृद्धिमा थप लगानी नबढाउने निर्णय गरेसँगै तत्कालको लागि नेपाल रि इन्स्योरेन्सको हकप्रद प्रक्रिया रोकिएको छ ।
हिमालयन रि इन्स्योरेन्सको हकमा भने कम्पनीले ८० प्रतिशत हकप्रद निष्कासन गरी तोकेको पूँजी पुर्याउने निर्णय गरेपनि प्रक्रिया अघि बढ्न सकेको छैन । कम्पनीले आफुखुशी साधारण सभाबाट ८० प्रतिशत हकप्रद निष्कासन गर्ने प्रस्ताव पारित गरी स्वीकृतिका लागि प्राधिकरणमा डकुमेन्ट पेश गरेको छ । तर हालसम्म प्राधिकरणबाट हिमालयन रि को हकप्रद निष्कासनको प्रस्ताव स्वीकृत हुन सकेको छैन ।
हिमालयन रि इन्स्योरेन्सको आइपीओ विवाद सम्बन्धि मुद्दा कायम रहनु र प्राधिकरणको बोर्ड बैठकबाटै हिमालयन रि को हकप्रद प्रस्ताव पारित नहुँदा कम्पनीको चुक्तापूँजी बृद्धि प्रक्रिया लम्बिएको प्राधिकरणका उपनिर्देशक शाम्भाराज लामिछानेले बताए ।
‘प्राधिकरणको बोर्ड बैठकबाटै हिमालयन रि को हकप्रद स्वीकृत भएको छैन, प्राधिरणमा नियमित बोर्ड बैठक नहुँदा पनि दुई पुनर्बीमा कम्पनीको हकप्रद प्रक्रिया लम्बिएको हो’ उनले भने, ‘नेपाल रि को हकमा सरकारबाट थप लगानी नगर्ने निर्णय भएबमोजिम तत्कालको लागि चुक्तापूँजी बृद्धि गर्न नसकिने सूचना प्राधिकरणमा आइसकेको छ र हिमालयन रि को हकप्रदको फाइल भने प्राधिकरणमै अड्किएकाले दुबै कम्पनीले तोकेको समयमा पूँजी पुर्याउन नसकेको हो ।’
प्राधिकरणले दुई पुनर्बीमा कम्पनीको चुक्तापूँजी बढाउने समयावधि थप गर्ने तयारी गरेको लामिछानेले बताए ।
‘नेपाल रि इन्स्योरेन्सले तत्काल पूँजी बढाउन नसक्ने जानकारी गराइसकेको छ, सो बमोजिम हिमालयन रि को पनि अब प्रक्रिया लम्बिनेछ’ उनले भने, ‘दुबै कम्पनीलाई एउटै मापदण्ड बनाउनुपर्ने भएकाले एउटालाई सहज बनाएर अर्कोलाई कडाई गर्न पनि मिल्दैन, सोहीबमोजिम प्राधिकरणले पुनर्बीमाको चुक्तापूँजी बढाउने समायावधि थप गर्ने तयारी गरेको छ ।’
यसअघि दुई पुनर्बीमा कम्पनीलाई प्राधिकरणले २०८० माघ मसान्तसम्म चुक्तापूँजी बृद्धिको डेडलाइन दिएपनि सो अवधिसम्म पूँजी पुर्याउन दुई कम्पनी असमर्थन देखिएपछि प्राधिरणले २०८१ माघ मसान्तसम्मको समयावधि थप गरिदिएको थियो ।
२०८१ को माघ मसान्तसम्म पनि हिमालयन रि र नेपाल रि ले पूँजी बृद्धिको लागि कुनै प्रक्रिया अघि बढाउन नसकेपछि दुबै कम्पनीको माग बमोजिम प्राधिकरणले २०८२ माघ मसान्तसम्मको डेडलाइन राखेर पुनः समयावधि थप गरिदिएको थियो ।

