काठमाण्डौ । सिटि होटल लिमिटेडले आज सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनी १० करोड ९ लाख रुपैयाँ घाटामा रहेको छ । अघिल्लो आवको सोही अवधिसम्म पनि कम्पनी १० करोड ४९ लाख रुपैयाँ घाटामा थियो ।
कम्पनीको आम्दानी पनि घटेको छ । कम्पनीले उक्त अवधिसम्म २४ करोड ३९ लाख रुपैयाँ आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ५.१६ प्रतिशतले कम हो ।
कम्पनीको खर्च पनि बढेको छ । अघिल्लो आवमा १७ करोड ४६ लाख रुपैयाँ कुल खर्च गरेको कम्पनीले समीक्षा अवधिसम्म भने १९ करोड २ लाख खर्च गरेको छ । कम्पनीको वित्त खर्च भने १४ करोड २८ लाखबाट घटेर १० करोड २६ लाखमा सीमित बनेको छ ।
३ अर्ब १ करोड रुपैयाँ चुक्तापूँजी भएको कम्पनीको कुल चालु सम्पत्ति ४८ करोड ७७ लाख र कुल चालु दायित्व १९ करोड ४३ लाख रहेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी ३.३५ रुपैयाँ ऋणात्मक, प्रतिसेयर नेटवर्थ ९८.५३ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १८८.६४ रुपैयाँ, पीई रेसियो १४०.३० गुणा ऋणात्मक र तरलता अनुपात २.५१ प्रतिशत कायम भएको छ ।

