काठमाण्डौ । फिफा विश्वकप–२०२६ मा विश्व फुटबलकै शक्तिशाली टोलीमध्ये एक जर्मनीलाई स्तब्ध पार्दै अन्तिम १६ मा स्थान बनाएको खुसीमा पाराग्वे सरकारले मंगलबार देशभर सार्वजनिक बिदा घोषणा गरेको छ।
ऐतिहासिक जितपछि राजधानीसहित देशका विभिन्न सहरमा समर्थकहरूले उत्सव मनाएका छन्।
अमेरिकाको बोस्टनस्थित रंगशालामा सम्पन्न राउन्ड अफ ३२ को खेलमा निर्धारित समय र अतिरिक्त समय १–१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो।
पेनाल्टीमा पाराग्वेले ४–३ को रोमाञ्चक जित निकाल्दै विश्वकपको अन्तिम १६ मा आफ्नो स्थान सुरक्षित गर्यो।
पेनाल्टी सुटआउटमा पाराग्वेका माउरिसियो, गुस्ताभो गोमेज, माथियस गालार्जा र जोस कालानेले सफल प्रहार गरे।
जर्मनीका कप्तान जोसुआ किम्मिच, जमाल मुसियाला र नादिएम अमीरीले मात्र गोल गर्न सके भने निर्णायक प्रहार पाराग्वेका गोलरक्षकले बचाएपछि जर्मनी प्रतियोगिताबाट बाहिरियो।
पाराग्वेले यसअघि नै विश्वकप छनोटमा ब्राजिल र अर्जेन्टिनाजस्ता बलिया टोलीलाई पराजित गर्दै आफ्नो क्षमता देखाइसकेको थियो।
मुख्य प्रतियोगितामा पनि टोलीले संघर्षपूर्ण प्रदर्शन गर्दै समूह चरणबाट उत्कृष्ट तेस्रो टोलीका रूपमा नकआउट चरणमा स्थान बनाएको थियो।
त्यसपछि जर्मनीलाई हराउँदै टोलीले विश्व फुटबलमा अर्को ऐतिहासिक अध्याय थपेको छ।
यस जितलाई राष्ट्रिय गौरवको उपलब्धिका रूपमा लिँदै राष्ट्रपति सान्टियागो पेनाले देशभर सार्वजनिक बिदा घोषणा गरेका हुन्।
सरकारका अनुसार राष्ट्रिय टोलीको सफलताले पाराग्वेली फुटबलप्रतिको विश्वास, उत्साह र राष्ट्रिय एकतालाई थप मजबुत बनाएको छ।

