काठमाण्डौ । आम सर्वसाधारणका लागि फागुन १२ गतेदेखि आईपीओको बिक्री आवेदन खुलाउन लागेको पाल्पा सिमेन्ट इन्डस्ट्रिज लिमिटेडको नाफामा संकुचन आएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमासिक प्रतिवेदन अनुसार समीक्षा अवधिमा कम्पनीको नाफामा ७२.९६ प्रतिशतको गिरावट आएको छ ।
बिक्री आम्दानीमा कमी आउनु नै कम्पनीको नाफामा गिरावटको प्रमुख कारक बनेको देखिएको छ । कम्पनीले बिक्रीमार्फत १ अर्ब ८९ करोड रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले बिक्रीमार्फत ४ अर्ब ११ करोड रुपैयाँ आर्जन गरेको थियो ।
यद्यपी कम्पनीको वित्त खर्चमा भने उल्लेख्य कमी आएको छ । अघिल्लो आवमा ५५ करोड ८४ लाख रुपैयाँ रहको कम्पनीको वित्त खर्च घटेर २२ करोड ३७ लाखमा सीमित बनेको छ । यो अवधिमा कम्पनीले १ करोड ३ लाख रुपैयाँबराबरको अन्य आम्दानी गरेको छ ।
३ अर्ब चुक्तापूँजी भएको कम्पनीको कुल चालु सम्पत्ति २ अर्ब ९२ करोड र कुल चालु दायित्व १ अर्ब २५ करोड रुपैयाँ रहेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) १.७६ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १३६.६२ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ३६९.३६ रुपैयाँ र तरलता अनुपात २.३३ प्रतिशत कायम भएको छ ।

