काठमाण्डौ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले खर्चको चापका बाबजुद नाफा बढाउन सफल भएको छ। सार्वजनिक अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीले समीक्षा अवधिमा ४ करोड ५७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन गत आवको सोही अवधिको ३ करोड ५३ लाख रुपैयाँको तुलनामा २९.३४ प्रतिशत बढी हो।
कम्पनीको बिक्री उल्लेखनीय रूपमा विस्तार भएको देखिन्छ। दोस्रो त्रैमाससम्म कम्पनीले ६ अर्ब ४१ करोड रुपैयाँको बिक्री आम्दानी गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ४०.०१ प्रतिशतले बढी हो। यस अवधिमा अन्य आम्दानीतर्फ पनि २२ करोड २५ लाख रुपैयाँ संकलन भएको छ।
यद्यपि, आम्दानीसँगै खर्च संरचनामा समेत उल्लेख्य वृद्धि देखिएको छ। कर्मचारी खर्च १५ करोड ९९ लाख रुपैयाँबाट बढेर २१ करोड २९ लाख पुगेको छ भने प्रशासनिक खर्च ७ करोड ६० लाखबाट ९ करोड ४४ लाख रुपैयाँमा उक्लिएको छ। कम्पनीको ब्याज खर्च ४१ करोड ४७ लाख रुपैयाँ पुगेको छ। ह्रासकट्टी खर्च पनि ६० लाख ७७ हजारबाट बढेर ६९ लाख १० हजार रुपैयाँ कायम भएको छ।
तर, कम्पनीको जगेडा तथा मुनाफा कोष १ अर्ब ३६ करोड रुपैयाँबाट घटेर १ अर्ब ३५ करोडमा सीमित भएको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)२५.९३ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ३५९.६० रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य २ हजार ९२६.७१ रुपैयाँ र मूल्य आम्दानी अनुपात २१५.७८ गुणा कायम भएको छ ।

