काठमाण्डौ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले घरजग्गा कारोबारमा लागु हुन लागेको इजाजतपत्र प्रणाली अस्थायी रूपमा स्थगित गरेको छ। विभागले मंगलबार जारी गरेको सूचनामा, इजाजतपत्र प्राप्त कम्पनी तथा संस्थामार्फत हुने जग्गा खरिदबिक्री, लिखत दर्ता, नामसारी लगायतका कारोबार अस्थायी रूपमा रोकेको जनाएको छ।
विभागका अनुसार, हालको निर्णयको मुख्य कारण इजाजतपत्र प्राप्त व्यक्तिले भू–सेवा केन्द्र सञ्चालनको अनुमति नलिनु हो। मालपोत नियमावली, २०३६ (आठौं संशोधन २०८२) अनुसार, इजाजतपत्र प्राप्त व्यक्तिले भू–सूचना प्रणालीमार्फत कारोबार गर्नुपर्ने कानुनी व्यवस्था छ। अनुमति नलिइएसम्म पुरानो परिपत्रको व्यवस्था अर्को आदेश नभएसम्म स्थगित रहनेछ।
मालपोत कार्यालय, नापी कार्यालय, र इजाजतपत्र प्राप्त कम्पनीहरूलाई विभागले निर्णयको पालना गर्न निर्देशन दिएको छ।

