सोमबार, श्रावण ११,२०८३ 06:39:11
Bizshala
  • सोमबार, श्रावण ११,२०८३ 06:39:11
Bizshala
Global IME Bank Limited

अमेरिकी नागरिकलाई कीर्ते आवासीय भिसा दिएको आरोपमा अध्यागमन कर्मचारीसहित दुई जनाविरुद्ध मुद्दा

विदेशी नागरिकको भिसा अभिलेख हेरफेर गरी नाम परिवर्तन गरेको अख्तियारको दाबी

अमेरिकी नागरिकलाई कीर्ते आवासीय भिसा दिएको आरोपमा अध्यागमन कर्मचारीसहित दुई जनाविरुद्ध मुद्दा
New Office

 

 

काठमाण्डौ । अध्यागमन विभागको सूचना प्रणाली दुरुपयोग गरी एक अमेरिकी नागरिकलाई गैरकानुनी रूपमा आवासीय भिसा उपलब्ध गराएको आरोपमा तत्कालीन अध्यागमन कर्मचारीसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अध्यागमन विभागको गैरपर्यटक शाखामा कार्यरत तत्कालीन कम्प्युटर अपरेटर तथा वरिष्ठ अध्यागमन सहायक राजीव महतो र अमेरिकी नागरिक डिन जे रोबिन्सनविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।

आयोगका अनुसार महतोले अध्यागमन सूचना प्रणाली ‘नेपाली पोर्ट’मा रहेको ‘ट्राभलर सेन्ट्रलाइजेसन’ सुविधा दुरुपयोग गरी अर्कै विदेशी नागरिकको आवासीय भिसा विवरण परिवर्तन गरेका थिए।

लक्जेम्बर्गका नागरिक पल क्रिस्चियन पियरे गेडिट्जका नाममा जारी भएको आवासीय भिसाको अभिलेख केरमेट तथा संशोधन गरी अमेरिकी नागरिक रोबिन्सनको नाममा एकीकृत गरिएको अख्तियारको आरोप छ।

आयोगले आवासीय भिसा पाउन अयोग्य रहेका रोबिन्सनसँग मिलेमतो गरी कानुनी प्रक्रिया पूरा नगरी भिसा जारी गरिएको दाबी गरेको छ। अधिकारप्राप्त अधिकारीको निर्णयबिना, आवश्यक कागजात तथा प्रक्रिया नपुर्‍याई र तोकिएको राजस्वसमेत दाखिला नगरी भिसा प्रिन्ट गरिएको आयोगको विज्ञप्तिमा उल्लेख छ।

अख्तियारका अनुसार सोही कथित कीर्ते आवासीय भिसाका आधारमा रोबिन्सन नेपालमा बसोबास गर्दै आएका थिए।

सरकारी अभिलेख सुरक्षित र यथार्थ राख्नुपर्ने जिम्मेवारीविपरीत महतोले सूचना प्रणालीमा रहेको विवरण सच्याउने, थपघट गर्ने तथा हेरफेर गरी नेपाल सरकार र अध्यागमन विभागलाई हानि पुर्‍याएको आयोगको आरोप छ।

आयोगले महतोविरुद्ध भ्रष्टाचार निवारणसम्बन्धी कानुनअनुसार कैद र जरिवानाको मागदाबी गरेको छ।

त्यस्तै, अमेरिकी नागरिक रोबिन्सनले कर्मचारीलाई प्रलोभनमा पारी गैरकानुनी लाभ लिएको र भ्रष्टाचारजन्य कसुरमा मतियारको भूमिका निर्वाह गरेको आरोप आयोगले लगाएको छ।

आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार रोबिन्सनविरुद्ध पनि मुख्य अभियुक्त महतोसरह कैद र जरिवानाको मागदाबी गरिएको छ।

आरोपको अन्तिम पुष्टि भने विशेष अदालतबाट हुने न्यायिक परीक्षणपछि मात्रै हुनेछ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.