काठमाण्डौ । ललितपुरका तीन निर्वाचन क्षेत्रमध्ये दुई क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरूले अग्रता लिएका छन् भने एउटा क्षेत्रमा नेपाली कांग्रेसले सुरुवाती अग्रता कायम गरेको छ।
काठमाडौं उपत्यकाका १५ निर्वाचन क्षेत्रमध्ये हालसम्म ललितपुर–१ मा मात्र नेपाली कांग्रेस अगाडि देखिएको छ। अन्य अधिकांश क्षेत्रमा रास्वपाका उम्मेदवारहरूले अग्रता बनाएका छन्।
ललितपुर–१ मा नेपाली कांग्रेसका उम्मेदवार उदयशमशेर राणाले २ हजार ६७४ मतसहित अग्रता कायम गरेका छन्। रास्वपाका बुद्धरत्न महर्जनले १ हजार ३८२ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका चेतनाथ सञ्जेलले १ हजार ३२४ मत ल्याएका छन्।
ललितपुर–२ मा रास्वपाका जगदीश खरेलले अग्रता बनाएका छन्। उनले हालसम्म २२८ मत प्राप्त गरेका छन्। नेकपा एमालेका प्रेम महर्जनले १३१ मत प्राप्त गरेका छन् भने उज्यालो नेपाल पार्टीका राजाराम तण्डुकारले १०८ मत ल्याएका छन्। नेपाली कांग्रेसका प्रेमकृष्ण महर्जनले ८१ र नेकपा माओवादी केन्द्रका राजेन्द्र अमात्यले ४५ मत प्राप्त गरेका छन्।
त्यसैगरी, ललितपुर–३ मा रास्वपाकी उम्मेदवार डा. तोसिमा कार्की २ हजार ४७७ मतसहित अग्रस्थानमा छिन्। नेपाली कांग्रेसका जितेन्द्रकुमार श्रेष्ठले ५९० मत प्राप्त गरेका छन् भने नेकपा एमालेका सन्दन थापा मगरले १२३ मत ल्याएका छन्।

