काठमाडौं । झापा–५ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बालेन्द्र शाहले प्रारम्भिक चरणदेखि नै फराकिलो अग्रता बनाएका छन्। नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई दोब्बरभन्दा बढी मतले पछि पारेपछि शाहको जित लगभग निश्चितजस्तै देखिएको छ।
यहीबीच बालेन शाह आज झापा जाने तयारीमा छन्। उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित हवाई उडानमार्फत झापा प्रस्थान गर्ने भएका हुन्।
यसअघि उनी हिजो नै झापातर्फ प्रस्थान गरेका थिए। तर, उनी सवार हेलिकोप्टर झापामा अवतरण गर्न नसकी बीचबाटै काठमाडौं फर्किनुपरेको थियो।
आज भने उनी नियमित जहाजमार्फत झापा जाने तयारीमा छन्। अहिले उनी त्रिभुवन विमानस्थलमा जहाजको पर्खाइमा रहेको बताइएको छ। चुनावी परिणाम आफ्नो पक्षमा आउने विश्वासका साथ शाहले झापामै पुगेर सम्भावित विजय उत्सव मनाउने तयारी गरेका छन्।

