काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा निर्वाचनको मतपरिणाम सार्वजनिक भइरहेका बेला विजय र्याली, अबिरजात्रा तथा उत्सव नगर्न आफ्ना समर्थक र कार्यकर्तालाई अपील गरेको छ।
पार्टीले जारी गरेको सन्देशमा हालै भएको ‘जेनजी’ घटनामा युवाले ज्यान गुमाउनु परेको पीडा अझै ताजा रहेको उल्लेख गर्दै अहिले उत्सव मनाउने अवस्था नरहेको बताएको छ। साथै मध्यपूर्वमा पछिल्लो समय देखिएका विभिन्न घटनाक्रमका कारण पनि उत्साहका साथ विजय जुलुस निकाल्ने वातावरण नभएको रास्वपाको भनाइ छ।
रास्वपाले जनताले दिएको मतलाई उत्सवको विषयभन्दा पनि जिम्मेवारीको रूपमा लिएको जनाएको छ। “जनताले हामीलाई काम गर्ने म्याण्डेट दिएका छन्। काम गरेर परिणाम देखाएपछि मात्र मतदातासँग खुशी साट्ने दिन आउनेछ,” पार्टीले भनेको छ।
पार्टीले मत माग्न जस्तै गरी नेताहरू मतदाताको घरदैलोमा पुगेर धन्यवाद दिने पनि जनाएको छ।
त्यसैले मतगणनास्थलमा उपस्थित मतदातालाई मात्र धन्यवाद दिन र कुनै पनि प्रकारका र्याली, फूलमाला तथा अबिरजात्रा नगर्न–नगराउन पार्टीले समर्थकहरूलाई आग्रह गरेको छ।

