चितवन । चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारी मतान्तरसहित विजयी भएका छन्।
शनिबार सार्वजनिक भएको मतपरिणाम अनुसार लामिछानेले ५४ हजार ४०२ मत प्राप्त गरेका छन्। यस क्षेत्रमा कुल ८७ हजार ०२८ मत गणना गरिएको थियो।
उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी मीनाकुमारी खरेलले १४ हजार ५६४ मत प्राप्त गरिन्। लामिछाने र खरेलबीचको मतान्तर ३९ हजार ८३८ रहेको छ।
लामिछाने यसअघि २०७९ सालमा भएको प्रतिनिधिसभा निर्वाचनमा पनि यही क्षेत्रबाट ३४ हजार २८१ मतान्तरले विजयी भएका थिए। त्यतिबेला उनका मुख्य प्रतिस्पर्धी नेपाली कांग्रेसका उमेश श्रेष्ठ थिए।
तर अमेरिकी नागरिकता लिएको र पुनः नेपाली नागरिकता नलिएको विषयमा विवाद उठेपछि उनको सांसद पद गुमेको थियो। त्यसपछि २०८० वैशाखमा सम्पन्न उपनिर्वाचनमा उनले झनै ठूलो मतान्तरसहित पुनः जित हासिल गरेका थिए।
त्यस उपनिर्वाचनमा लामिछानेले ५४ हजार १७६ मत प्राप्त गरेका थिए भने नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले ११ हजार २१४ मत मात्रै पाएका थिए। उनीहरूबीचको मतान्तर ४२ हजार ९६२ थियो। सोही उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले १० हजार ९३६ मत पाएका थिए।
त्यसअघि २०७९ मंसिर ४ मा भएको आम निर्वाचनमा लामिछानेले ४९ हजार ३०० मत प्राप्त गरेका थिए।
शनिबार प्राप्त ताजा मतपरिणाम अनुसार चितवन–२ मा नेकपा एमालेका उम्मेदवार अस्मिन घिमिरेले ६ हजार ९९२ र नेकपाका प्रताप गुरुङले ४ हजार ९६९ मत प्राप्त गरेका छन्।

