चितवन । चितवन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का हरि ढकाल विजयी भएका छन्। उनले नेपाली कांग्रेसका उम्मेदवार राजेन्द्रप्रसाद बुर्लाकोटीलाई फराकिलो मतान्तरले पछि पार्दै जित हात पारेका हुन्।
अन्तिम मतपरिणामअनुसार ढकालले ५८ हजार २०८ मत प्राप्त गरेका छन् भने बुर्लाकोटीले १३ हजार ३३ मत पाए। यससँगै ढकालले ४५ हजार १७५ मतको उल्लेख्य अग्रतासहित निर्वाचन जितेका छन्।
ढकाल यसअघि २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा पनि यही क्षेत्रबाट विजयी भएका थिए। त्यसबेला उनले नेपाली कांग्रेसका विश्व पौडेल र नेकपा एमालेका सुरेन्द्र पाण्डेलाई पराजित गरेका थिए। सो निर्वाचनमा ढकालले ३४ हजार १८९ मत ल्याउँदा पाण्डेले २६ हजार ६०८ र पौडेलले २४ हजार ९९० मत प्राप्त गरेका थिए।
शनिबार सार्वजनिक भएको अन्तिम नतिजाअनुसार यस क्षेत्रबाट नेकपा एमालेका दावा दोर्जे लामाले १० हजार ८९९ मत प्राप्त गरेका छन्। त्यस्तै नेकपाका कृष्ण पन्तले ४ हजार ८१ र राष्ट्रिय प्रजातन्त्र पार्टीका बलराम खनालले २ हजार ३०२ मत प्राप्त गरेका छन्।

