काठमाण्डौ । एक वर्षमा सेयरबजार ०.५५ प्रतिशतले घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालु आवको ७ महिनासम्ममा नेप्से परिसूचक २६७१.०७ विन्दुमा कायम भएको छ ।
गत वर्षको सोही अवधिसम्म भने नेप्से परिसूचक २६८५.७३ विन्दुमा रहेको थियो । सो अवधिसम्म धितोपत्र बजार पँुजीकरण ४४ खर्ब ८४ अर्ब ७९ करोड रुपैयाँ पुगेको छ ।
गत वर्षको सोही अवधिसम्म भने धितोपत्र बजार पुँजीकरण ४४ खर्ब ५८ अर्ब ५२ करोड रुपैयाँ रहेको थियो । यस हिसाबमा बजार पूँजीकरण एक वर्षमा ०.५९ प्रतिशतले बढेको छ ।
२०८२ माघ मसान्तमा नेप्सेमा सूचीकृत कम्पनीहरूको संख्या २८४ रहेको छ । सूचीकृत कम्पनीहरूमध्ये १३२ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ९७ जलविद्युत् कम्पनी, २६ उत्पादन तथा प्रशोधन उद्योग, ८ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र १० अन्य समूहका रहेका छन् । २०८१ माघमा सूचीकृत कम्पनीहरूको संख्या २६८ रहेको थियो ।
सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ५१.७ प्रतिशत रहेको छ ।
त्यसैगरी, जलविद्युत्कम्पनीको हिस्सा १६.० प्रतिशत, लगानी कम्पनीको हिस्सा ७.४ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ७.० प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ४.७ प्रतिशत, होटेलको हिस्सा ३.२ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा १०.१ प्रतिशत रहेको छ ।

