काठमाण्डौ । प्रधानमन्त्री सुशीला कार्कीले भदौ २३ र २४ गतेका घटनाबारे बनेको जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय लिएकी छन्।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलका अनुसार सरकारले एकैपटक तीन महत्वपूर्ण दस्तावेज सार्वजनिक गर्ने तयारी गरेको हो।
प्रधानमन्त्री कार्कीले भदौ २३–२४ घटनासम्बन्धी जाँचबुझ आयोग, २०८२ को प्रतिवेदनसहित नेपाल बाल संगठन तथा बालमन्दिर सम्बन्धी उच्चस्तरीय जाँचबुझ आयोग, २०७७ को प्रतिवेदन र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले तयार गरेको ‘सुशासन मार्गचित्र, २०८२’ सार्वजनिक गर्ने निर्णय गरेकी हुन्।
भदौ २३–२४ को घटनाबारेको कार्की आयोगको प्रतिवेदन औपचारिक रुपमा सार्वजनिक हुनुअघि नै विभिन्न सञ्चारमाध्यममार्फत बाहिरिसकेको थियो। अब उक्त प्रतिवेदन संघीय संसद सचिवालयको पुस्तकालयमा अभिलेख राखेर सार्वजनिक गरिने जनाइएको छ।
यसअघि मंगलबार प्रधानमन्त्री कार्कीले नेपाल बाल संगठन र बालमन्दिर सम्बन्धी उच्चस्तरीय जाँचबुझ आयोग, २०७७ को प्रतिवेदन पनि सोही प्रक्रियामार्फत सार्वजनिक गर्ने निर्णय गरिसकेकी थिइन्।
त्यसैगरी, गत चैत ३ गते तयार गरिएको ‘सुशासन मार्गचित्र, २०८२’ लाई कार्यान्वयनमा लैजाने प्रक्रिया अघि बढाइएको छ। उक्त मार्गचित्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गर्नेछ।

