काठमाण्डौ । हवाई इन्धनको मूल्य दोब्बर बढेसँगै देशभित्रको हवाई उडान भाडा पनि अत्यधिक वृद्धि भएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार काठमाडौं–धनगढी रुटको अधिकतम भाडा अब २३ हजार ५९ रुपैयाँ पुगेको छ। भाडा वृद्धि मुख्य रूपमा इन्धन मूल्य (फ्युल सर्चार्ज) बढेसँगै वृद्धि भएको प्राधिकरणले प्रष्ट पारेको छ । यसअघि धनगढीको लागि इन्धन मूल्य ५ हजार ६ सय १० रुपैयाँ कायम थियो।
नेपाल आयल निगमले मंगलबार आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर १२५ रुपैयाँबाट बढाएर २५१ रुपैयाँ पुर्याएको थियो। यसपछि धनगढी रुटमा इन्धन शुल्क मात्र ११ हजार ९० रुपैयाँ पुगेको छ। अन्ततः न्यूनतम भाडा १४ हजार ४ सय ५७ रुपैयाँ कायम गरिएको छ।
भाडामा इन्धनको मूल्यबाहेक वायुसेवा कम्पनीले लिने भाडा, १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) र विमानस्थल शुल्क समेत समावेश हुन्छ।
वायुसेवा सञ्चालक संघका अनुसार नयाँ भाडा दर लागू भइसकेको छ। कम्पनीहरूले बढेको डलर मूल्य र इन्धनको उच्च मूल्यका कारण हवाई सेवा सञ्चालन चुनौतीपूर्ण भएको बताएका छन्।
अन्य प्रमुख रुटका भाडा यस प्रकार रहेको छ:
- काठमाडौं–माउन्टेन: न्यूनतम ११,३४२ / अधिकतम १८,०२६
- काठमाडौं–भद्रपुर: न्यूनतम ९,९८९.२ / अधिकतम १५,८३७
- काठमाडौं–विराटनगर: न्यूनतम ८,८८.९ / अधिकतम १२,७६५
- काठमाडौं–जनकपुर: न्यूनतम ५,५६५ / अधिकतम ७,०७०
- काठमाडौं–पोखरा: न्यूनतम ५,०१५ / अधिकतम ८,६०५
- काठमाडौं–भैरहवा: न्यूनतम ७,०६० / अधिकतम ११,०१६
- काठमाडौं–नेपालगन्ज: न्यूनतम १०,८०० / अधिकतम १७,१४८
- काठमाडौं–तुम्लिङटार: न्यूनतम ६,३२७ / अधिकतम ९,९२०
- सिमरा–धनगढी: २६,३०६ (जसमा इन्धन शुल्क १२,७३५ रुपैयाँ)
यसरी इन्धन मूल्यको वृद्धि सिधै हवाई भाडामा प्रभाव पारेको प्राधिकरणले जनाएको छ।

