काठमाण्डौ । ललितपुरमा सरकारी सेवा लिने सेवाग्राहीलाई हैरानी दिने आरोपमा प्रहरीले बिचौलियामाथि कारबाही गरेको छ।
जिल्ला प्रहरी परिसर, ललितपुरका अनुसार लगनखेलस्थित नापी कार्यालय र एकान्तकुनामा रहेको यातायात व्यवस्था कार्यालयबाट कुल ३२ जना बिचौलिया पक्राउ परेका हुन्।
सेवाग्राहीलाई अनावश्यक दुःख दिने, प्रक्रिया जटिल बनाउने र काममा अवरोध सिर्जना गर्ने गतिविधिमा संलग्न रहेको सूचनाका आधारमा प्रहरी परिचालन गरिएको थियो। जिल्ला प्रहरी परिसरका साथै प्रहरी वृत्त सातदोबाटो र वडा प्रहरी कार्यालय लगनखेलबाट संयुक्त टोली खटिएको थियो।
कारबाहीका क्रममा नापी कार्यालयबाट २१ जना र यातायात कार्यालयबाट ११ जना पक्राउ परेका प्रहरीले जनाएको छ। पक्राउ परेकामाथि थप अनुसन्धान अघि बढाइएको छ।

