काठमाण्डौ । भृकुटी स्टक ब्रोकिङ कम्पनी(स्टक ब्रोकर नम्बर ५५) ले सामाजिक सञ्जाल तथा विभिन्न सञ्चार माध्यमहरूमा फैलिरहेका अप्रमाणित हल्ला तथा भ्रामक सूचनाप्रति सचेत रहन सम्पूर्ण लगानीकर्ताहरूलाई अनुरोध गरेको छ।
कम्पनीले जारी गरेको सूचनामा हालसम्म नियामक निकायहरूबाट कारोबार रद्दसम्बन्धी कुनै पनि आधिकारिक निर्देशन वा सूचना प्राप्त नभएको स्पष्ट पारिएको छ। बजारमा फैलिएका यस्ता अफवाहहरूले लगानीकर्तामा अनावश्यक भ्रम र त्रास सिर्जना गर्न सक्ने भएकाले यस्ता अप्रमाणित सूचनामा विश्वास नगर्न कम्पनीले आग्रह गरेको हो।
साथै, कम्पनीले आफ्ना सेवाहरू नियमित रूपमा सञ्चालनमा रहेको र कुनै असामान्य अवस्था नरहेको जानकारी पनि दिएको छ। लगानीकर्ताहरूलाई आधिकारिक स्रोतबाट मात्र सूचना लिन तथा संयमित र सूचित निर्णय गर्न कम्पनीले सुझाएको छ।

