काठमाण्डौ । शुक्रबार बिहानसम्मको अवस्थाअनुसार देशभरको मौसम सामान्यतया स्थिर देखिएको छ। कोसी प्रदेश र उच्च हिमाली भेगमा आंशिक बदली देखिए पनि अन्य पहाडी तथा तराई क्षेत्रको आकाश प्रायः सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
हाल कोसी, बागमती र गण्डकी प्रदेशका केही पहाडी क्षेत्रमा छिटफुट रूपमा हल्का वर्षा भइरहेको छ। बिहान ८ बजे जारी गरिएको बुलेटिनअनुसार दिउँसो कोसी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा केही स्थानमा तथा सोही प्रदेशको तराईसहित बागमती र गण्डकीका हिमाली भेगका सीमित स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना रहेको छ।
त्यस्तै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा केही स्थानमा हावाहुरी चल्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।
रातिको समयमा भने कोसी र गण्डकी प्रदेशका हिमाली भेगका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने अनुमान गरिएको छ।
यता, काठमाडौं उपत्यकामा भने शुक्रबार बिहानदेखि नै मौसम सफा रहेको छ। मौसमविद् बिनु महर्जनका अनुसार उपत्यकामा उल्लेखनीय बदली नभएको र दृश्यता करिब ६ हजार मिटर रहेको छ। उनका अनुसार आज उपत्यकामा वर्षा हुने सम्भावना निकै न्यून छ।


