काठमाण्डौ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले क्रियाशील सदस्यता अद्यावधिक प्रक्रियालाई अनिवार्य बनाउँदै संगठनभित्र अनुशासन र संरचनात्मक सुधारतर्फ स्पष्ट सन्देश दिएका छन्।
मंगलबार काठमाण्डौ महानगरपालिका–३० स्थित वडा पार्टी कार्यालयमा पुगेर स्वयं सदस्यता अद्यावधिकका लागि निवेदन दिएका थापाले त्यसलगत्तै सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीको विधानअनुसार अघि बढाइएको यो अभियानलाई कसैले पनि अवरोध नगर्न आग्रह गरे। उनले सदस्यता अद्यावधिक नगर्नेहरू स्वतः क्रियाशील सदस्य नरहने प्रावधान रहेको स्मरण गराउँदै सबै नेता तथा कार्यकर्तालाई सम्बन्धित वडा कार्यालयमै पुगेर प्रक्रिया पूरा गर्न निर्देशन दिए।
थापाले सदस्यता अद्यावधिकलाई केवल प्रशासनिक प्रक्रिया नभई संगठन सुदृढीकरणको महत्वपूर्ण आधारका रूपमा व्याख्या गरे। उनका अनुसार अद्यावधिक प्रक्रियाले निष्क्रिय सदस्यता हटाउँदै पार्टीलाई बढी सक्रिय, उत्तरदायी र व्यवस्थित बनाउने लक्ष्य राखेको छ।
यस क्रममा उनले सदस्यता प्रक्रियाबारे फैलाइने हल्ला र भ्रमप्रति पनि असन्तुष्टि जनाए। ‘सदस्यता खोसिन्छ वा कसैले खाइदिन्छ भन्ने आधारहीन प्रचारले संगठनलाई कमजोर बनाउँछ’ उनले भने, ‘कुनै जिज्ञासा भए पार्टीको केन्द्रीय कार्यालयमार्फत स्पष्ट जानकारी लिन सकिन्छ।’
महामन्त्रीहरूको संयोजनमा सञ्चालन भइरहेको उक्त अभियानलाई सफल बनाउन सबै तहका नेताहरूको सक्रिय भूमिका आवश्यक रहेको उनले उल्लेख गरे। साथै, आन्तरिक एकता कायम राख्दै प्रक्रियामा सहभागी हुन उनले पार्टी पंक्तिलाई आह्वान गरे।

