काठमाण्डौ । चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म मितेरी डेभलपमेन्ट बैंकको वित्तीय अवस्था सन्तोषजनक देखिएको छ ।
आर्थिक वर्षको ९ महिनासम्मको अवस्था बाँकी ३ महिना पनि निरन्तर रह्यो भने मितेरी बैंकले लगानीकर्तालाई यो वर्ष पनि डबल डिजीट हाराहारीकै लाभांश दिनसक्ने क्षमता बनाएको देखिन्छ ।
समीक्षा अवधिका लागि बैंकको लाभांश क्षमता १० प्रतिशत हाराहारी देखिएको छ ।
बैंकको खूद नाफा अघिल्लो वर्षको यही अविधको ९ करोड २४ लाखको तुलनामा बढेर ९ करोड ६२ भन्दा बढी हुँदा वार्षिकीकृत प्रतिसेयर आम्दानी पनि १०.१३ रुपैयाँबाट बढेर १०.५४ रुपैयाँको उचाईमा पुगेको छ।
बैंकको मुख्य विजिनेश बढेका कारण खूद ब्याज आम्दानीमा निकै ठूलो बढोत्तरी देखिएको छ । अघिल्लो वर्षको यही अवधिसम्म १३ करोड २६ लाखमा सीमित खूद ब्याज आम्दानी बढेर यो वर्ष २२ करोड १५ लाखको उचाईमा पुगेको छ । यो राम्रो संकेत हो ।
अघिल्लो वर्ष बैंकको सञ्चालन मुनाफा १३ करोड २० लाख रहेकोमा बढेर १३ करोड ७४ लाख पुगेको छ भने ०.७८ प्रतिशत रहेको खराब कर्जा घटेर ०.४८ प्रतिशतमा सीमित बन्न पुगेको छ।
समीक्षा अवधिसम्म बैंकले ८ अर्ब ५८ करोड बढी निक्षेप संकलन गरी ६ अर्ब ८४ करोड बढी कर्जा प्रवाह गरेको देखिएको छ । अघिल्लो वर्षको यही अवधिसम्म ६ अर्ब ५० करोड बढी निक्षेप संकलन गरी ५ अर्ब १७ करोड बढी कर्जा परिचालन गरेको थियो।
समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर नेटवर्थ रु. १३९.३६, मूल्य आम्दानी अनुपात ५९ गुणा, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ८५२.९८ रुपैयाँ, पूँजीकोष अनुपात २४.७१ प्रतिशत र तरलता अनुपात ३१.८९ प्रतिशत कायम भएको छ ।

