काठमाण्डौं । संयुक्त अरब अमीरात )यूएई) ले पेट्रोलियम निर्यातक देशहरूको संगठन (ओपेक) बाट अचानक बाहिरिने घोषणा गरेपछि अन्तर्राष्ट्रिय ऊर्जा बजारमा यसको ठूलो प्रभाव पर्ने अनुमान गरिएको छ।
यूएई सन् १९७१ मा राष्ट्र बनेसँगै ओपेकको सदस्य बनेको थियो, यद्यपि संगठन सन् १९६० मै स्थापना भएको हो।
ओपेकको स्थापना इरान, इराक, कुवेत, साउदी अरब र भेनेजुएलाले गरेका थिए, जसको उद्देश्य उत्पादन नियन्त्रणमार्फत तेलको मूल्य स्थिर राख्नु थियो।
समयसँगै अल्जेरिया, नाइजेरिया, लिबिया, कङ्गो लगायत देशहरू पनि यसमा जोडिए। हाल यस संगठनले विश्व तेल आपूर्तिको करिब ५० प्रतिशत हिस्सा नियन्त्रण गर्दै आएको छ।
यूएईले ओपेकको कोटा प्रणालीका कारण आफ्नो उत्पादन क्षमता पूर्ण रूपमा उपयोग गर्न नपाएको बताइन्छ।
हाल उसको उत्पादन क्षमता दैनिक करिब ३०–३५ लाख ब्यारेलमा सीमित थियो।
तर अब उसले उत्पादन विस्तार गर्दै दैनिक ५० लाख ब्यारेलसम्म पुर्याउने लक्ष्य राखेको अनुमान गरिएको छ।

ओपेकका लागि ठूलो झटका
विश्लेषकहरूका अनुसार यूएईको यो निर्णय ओपेकका लागि ठूलो झटका हो।
संगठन पहिले जस्तो शक्तिशाली नरहेको अवस्थामा यसले थप दबाब सिर्जना गर्ने देखिन्छ।
ऊर्जा विशेषज्ञहरू भन्छन्, ओपेकको एकता र भविष्यबारे पहिले नै प्रश्न उठिरहेका बेला यो कदमले संगठनभित्र असन्तुलन बढाउन सक्छ।
क्षेत्रीय र राजनीतिक प्रभाव
यूएईको निर्णयले खाडी क्षेत्रमा नयाँ तनाव सिर्जना गर्न सक्ने अनुमान गरिएको छ।
-इरानसँगको सम्बन्धमा थप प्रभाव पर्ने
-साउदी अरबसँगको पुरानो तनाव बढ्न सक्ने
-खाडी कूटनीतिमा नयाँ प्रतिस्पर्धा सुरु हुन सक्ने
ऊर्जा बजारमा सम्भावित असर
यूएईले उत्पादन बढाएमा विश्व बजारमा तेलको आपूर्ति बढ्ने र मूल्यमा गिरावट आउन सक्ने अनुमान छ।
केही विश्लेषकका अनुसार स्थिर अवस्था आएमा कच्चा तेलको मूल्य प्रति ब्यारेल ५० डलरसम्म झर्न सक्ने सम्भावना पनि छ।
तर, अर्कोतर्फ, यदि ओपेक र खाडी क्षेत्रमा तनाव बढेमा मूल्य फेरि अस्थिर हुन सक्ने चेतावनी पनि दिइएको छ।

यूएईले होर्मुज जलमार्गको विकल्पका रूपमा फुजैरा बन्दरगाहसम्म नयाँ पाइपलाइन विस्तार गर्ने योजना अघि बढाइरहेको छ, जसले तेल ढुवानीमा निर्भरता घटाउने अपेक्षा गरिएको छ।
ओपेकको घट्दो प्रभाव
विशेषज्ञहरूका अनुसार सन् १९७० को दशकमा विश्व तेल बजारको ८५ प्रतिशत हिस्सा ओपेकको नियन्त्रणमा थियो ।
तर, अहिले यो करिब ५० प्रतिशतमा सीमित भएको छ।
ऊर्जा स्रोतहरूको विविधीकरण र विद्युतीय सवारी साधनको बढ्दो प्रयोगले भविष्यमा तेलको माग स्थिर वा घट्न सक्ने संकेत पनि देखिएको छ।

यूएईको ओपेकबाट बाहिरिने निर्णयलाई केवल संगठनात्मक परिवर्तन मात्र नभई विश्व ऊर्जा बजारको संरचनात्मक परिवर्तनको संकेतका रूपमा हेरिएको छ।
अब यसले ओपेकको भविष्य, तेलको मूल्य र खाडी क्षेत्रको शक्ति सन्तुलनमा महत्वपूर्ण प्रभाव पार्ने देखिन्छ।
एजेन्सी /बीबीसी हिन्दी

