काठमाण्डौ । अघिल्लो आवमा घाटामा रहेको छ्याङदी हाइड्रोपावर नाफा आर्जन गर्न सफल भएको छ । कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म १ करोड ८८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी ४ करोड २ लाख रुपैयाँ घाटामा थियो ।
कम्पनीको विद्युत बिक्री आम्दानी अघिल्लो त्रैमासको तुलनामा ३४.८१ प्रतिशतले बढेको छ । कम्पनीले विद्युत बिक्रीमार्फत १३ करोड ९४ लाख आर्जन गरेको छ ।
कम्पनीको प्रशासनिक खर्च ८८ लाख ७४ हजार रुपैयाँबाट बढेर १ करोड १४ लाख रुपैयाँ पुगेको छ । यस्तै ह्रासकट्टी खर्च ३ करोड ६५ लाखबाट घटेर ३ करोड ६१ लाख पुगेको छ । अघिल्लो आवमा ७ करोड ३४ लाख रहेको वित्त खर्च भने घटेर ४ करोड ६९ लाखमा सीमित बनेको छ ।
समीक्षा अवधिमा कम्पनीको रिटेन्ड अर्निङ १८ करोड ८३ लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ । ७७ करोड ३९ लाख रुपैयाँ चुक्तापूँजी भएको कम्पनीको कुल चालु सम्पत्ति ९ करोड ३८ लाख र कुल चालु दायित्व १ करोड ९५ लाख रहेको छ ।
कम्पनीको प्रतिसेयर आम्दानी २.४४ रुपैयाँ , प्रतिसेयर नेटवर्थ ८५.०९ रुपैयाँ र तरलता अनुपात २.२२ प्रतिशत कायम भएको छ ।

