काठमाण्डौ । विकास हाईड्रोपावर कम्पनी लिमिटेडको विद्युत बिक्री आम्दानीमा बढोत्तरी आएसँगै नाफा बढेको छ । कम्पनीले चालु आवको तेस्रो त्रैमासम्म १३ करोड ८१ लाख रुपैयाँबराबरको विद्युत बिक्री आम्दानी गरेको छ । अघिल्लो आवमा भने कम्पनीले विद्युत बिक्रीमार्फत ९ करोड १४ लाख रुपैयाँ आर्जन गरेको थियो ।
विद्युत बिक्री आम्दानी बढेसँगै कम्पनीको खुद नाफा समेत ६२१.९८ प्रतिशतले बढेको छ । कम्पनीले तेस्रो त्रैमाससम्म ७ करोड १० लाख रुपैयाँबराबरको खुद नाफा कमाएको छ । अघिल्लो आवमा भने कम्पनीले ९८ लाख ४५ हजार रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो ।
कम्पनीको वित्त खर्च समेत घटेको छ । अघिल्लो आवमा ३ करोड ८३ लाख रहेको कम्पनीको वित्त खर्च घटेर १ करोड ७६ लाखमा सीमित बनेको छ । कम्पनीको कर्मचारी सुविधा खर्च ७५ लाख ६४ हजार, प्रशासनिक खर्च ३९ लाख ९२ हजार र ह्रासकट्टी खर्च २ करोड ६६ लाख रुपैयाँ रहेको छ ।
कम्पनीको रिजर्भको आकार पनि ८ करोड ७५ लाख पुगेको छ । अघिल्लो आवमा कम्पनीको रिजर्भको आकार २३ लाख ८७ हजार रुपैयाँले ऋणात्मक अवस्थामा थियो ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी १०.४३ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १०९.६४ रुपैयाँ, मूल्य आम्दानी अनुपात ७१.२४ गुणा र तरलता अनुपात ५.१० प्रतिशत कायम भएको छ ।

