काठमाण्डौ । सानिमा माई हाइड्रोपावरको मुनाफा आधा घटेको छ । चालु आवको तेस्रो त्रैमाससम्म कम्पनीले १३ करोड ५४ लाख रुपैयाँ मात्रै नाफा कमाएको छ ।
कम्पनीको यो नाफा गत आवको सोही अवधिसम्मको तुलनामा ५६.४० प्रतिशत कम हो । गत आवको सोही अवधिसम्म कम्पनीले ३१ करोड ७ लाख रुपैयाँ नाफा कमाएको थियो ।
कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानीमा गिरावट आउँदा नाफा घट्न पुगेको हो । गत आवको तेस्रो त्रैमाससम्म बिजुली बेचेर ५१ करोड २९ लाख रुपैयाँ आम्दानी गरेको यो कम्पनीले चालु आवको तेस्रो त्रैमासमा जम्मा ३१ करोड १२ लाख रुपैयाँ मात्रै आम्दानी गरेको छ । यसर्थमा कम्पनीको यस्तो आम्दानी ३९.३२ प्रतिशतले घटेको छ ।
नाफामा गिरावट आएसँगै कम्पनीको प्रतिसेयर आम्दानी (इपीएस) ८.३१ रुपैयाँबाट घटेर ३.६२ रुपैयाँ कायम भएको छ भने प्रतिसेयर नेटवर्थ १४५.९३ रुपैयाँ र पीई रेसियो १४५.९३ गुणा पुगेको छ ।

