काठमाण्डौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयको हिउँदे तथा बर्खे बिदा घटाउने निर्णय गर्दै यस शैक्षिक सत्रदेखि बिदाको अवधि ४५ दिनबाट ३० दिनमा झारेको छ ।
सातामा दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णयपछि नियमित पठनपाठनमा असर कम गर्न मन्त्रालयले यस्तो व्यवस्था लागू गरेको हो ।
मन्त्रिपरिषद्को गत चैत २२ गते बसेको बैठकले शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेपछि शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विद्यालय सञ्चालनको नयाँ कार्यतालिका लागू गर्न निर्देशन दिएको हो ।
केन्द्रले मङ्गलबार देशभरका ७७ वटै शिक्षा विकास तथा समन्वय एकाइ र स्थानीय तहलाई परिपत्र पठाउँदै निर्णय प्रभावकारी रूपमा कार्यान्वयन गर्न आग्रह गरेको छ ।
केन्द्रले विद्यालयको दैनिक समय व्यवस्थापनमा पनि कडाइ गरेको छ ।
नयाँ व्यवस्थाअनुसार अब विद्यालयमा प्रार्थनाका लागि १५ मिनेटभन्दा बढी समय छुट्याउन पाइने छैन भने खाजा समय अधिकतम ३० मिनेट मात्र रहनेछ ।
सोमबारदेखि शुक्रबारसम्म विद्यालयको सम्पूर्ण समय पठनपाठन र शैक्षिक गतिविधिमा केन्द्रित गर्न निर्देशन दिइएको छ ।
यस्तै, पहिलो र दोस्रो त्रैमासिक आन्तरिक मूल्याङ्कन नियमित कक्षालाई असर नपर्ने गरी सञ्चालन गर्नुपर्ने व्यवस्था गरिएको छ ।
अन्तिम परीक्षा र नतिजा प्रकाशनका लागि भने शैक्षिक सत्रको अन्तिम १२ दिन छुट्याउन विद्यालयहरूलाई भनिएको छ ।
यसैबीच, राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजामा प्रदेशगत रूपमा ठूलो अन्तर देखिएको छ ।
बोर्डको तथ्याङ्कअनुसार सबैभन्दा धेरै विद्यार्थी ननग्रेडेड हुने प्रदेश मधेश बनेको छ भने गण्डकी प्रदेशको नतिजा तुलनात्मक रूपमा उत्कृष्ट देखिएको छ ।
मधेश प्रदेशबाट एसईईमा ७६ हजार ३१७ विद्यार्थी सहभागी भएकामा ३१ हजार ७२५ जना ननग्रेडेड भएका छन् ।
यो सङ्ख्या अन्य प्रदेशको तुलनामा सबैभन्दा बढी हो । यस्तै, कोशी प्रदेशमा ७२ हजार २५६ विद्यार्थी सहभागी भएकामा २१ हजार ३६६ जना अनुत्तीर्ण भएका छन् ।
बागमती प्रदेशमा ९८ हजार ८१७ विद्यार्थी सहभागी भएकामा २१ हजार ७०४ जना मात्र ननग्रेडेड भएका छन् ।
शैक्षिक पूर्वाधार, स्रोतसाधन र तुलनात्मक रूपमा गुणस्तरीय विद्यालयको पहुँच बढी भएकाले बागमतीको नतिजा राम्रो देखिएको विश्लेषण गरिएको छ ।
गण्डकी प्रदेशबाट ३६ हजार ४९३ विद्यार्थी परीक्षामा सहभागी भएकामा नौ हजार ९४३ जना मात्रै ननग्रेडेड भएका छन् ।
यस प्रदेशको नतिजालाई शिक्षाविद्हरूले सकारात्मक रूपमा लिएका छन् ।
कर्णाली प्रदेशमा ३२ हजार ३३६ जनामध्ये १३ हजार २४१ जना तथा सुदूरपश्चिम प्रदेशमा ४२ हजार २९९ जनामध्ये २० हजार ६३५ जना ननग्रेडेड भएका छन् ।
राष्ट्रिय परीक्षा बोर्डले सोमबार साँझ सार्वजनिक गरेको नतिजाअनुसार यस वर्ष एसईईमा कुल ६५ दशमलव ९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
देशभरबाट दुई लाख ८४ हजार १६० जना ग्रेडेड समूहमा परेका छन् भने एक लाख ४६ हजार ५०७ जना ननग्रेडेड भएका छन् ।
बोर्डका सदस्यसचिव जङ्गबहादुर अर्यालका अनुसार ननग्रेडेड भएका विद्यार्थीका लागि असार १ देखि ९ गतेसम्म ग्रेडवृद्धि परीक्षा सञ्चालन गरिनेछ ।
साथै, नतिजाप्रति चित्त नबुझेका विद्यार्थीले जेठ १ देखि ७ गतेसम्म पुनर्योगका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको बोर्डले जनाएको छ ।

