काठमाण्डौं । कोहलपुर–सुर्खेत १३२ केभी विद्युत् प्रसारण लाइनअन्तर्गत बाँकेको चिसापानी क्षेत्रमा रहेका दुई वटा उच्च क्षमताका टावर ढलेपछि कर्णाली प्रदेशको विद्युत् आपूर्तिमा गम्भीर असर परेको छ।
हावाहुरीका कारण रुख ढल्दा ती टावरहरू पूर्ण रूपमा क्षतिग्रस्त भएपछि उक्त प्रसारण लाइन अवरुद्ध भएको हो।
घटनाप्रति ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले गम्भीर चासो व्यक्त गर्दै तत्काल मर्मत, पुनर्निर्माण तथा घटनाको विस्तृत छानबिन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।
मन्त्री श्रेष्ठले क्षतिग्रस्त संरचनाको शीघ्र पुनःस्थापना गरी कर्णालीमा नियमित विद्युत् आपूर्ति सुनिश्चित गर्न आवश्यक सबै संयन्त्र परिचालन गर्न आग्रह गरेको उनको सचिवालयले जनाएको छ।
मन्त्रालयका अनुसार मन्त्री श्रेष्ठको सचिवालयले नेपाल विद्युत् प्राधिकरण तथा सम्बन्धित प्राविधिक कार्यालयहरूसँग निरन्तर समन्वय गर्दै प्रसारण लाइन छिटो सञ्चालनमा ल्याउने प्रयास तीव्र बनाएको छ। प्रारम्भिक विवरणअनुसार हावाहुरीका क्रममा नजिकैका रुखहरू ढल्दा टावर संरचनामा ठूलो क्षति पुगेको हो।
यसैबीच नेपाल विद्युत् प्राधिकरणले घटनाबारे विस्तृत अध्ययन गर्न ग्रिड अपरेसन प्रमुख रमण राज शर्माको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ।
समितिले टावर ढल्नुको प्राविधिक कारण, निर्माण गुणस्तर तथा सम्भावित त्रुटिहरूको अध्ययन गर्नेछ।
प्राधिकरणका अनुसार क्षतिग्रस्त टावर निर्माणको जिम्मा आर एस इन्फ्रा कम्पनीले लिएको थियो।
प्रारम्भिक मूल्यांकनमा टावरको फाउन्डेसनदेखि पुनःनिर्माण गर्नुपर्ने अवस्था देखिएको छ, जसका कारण मर्मत तथा पुनःस्थापना कार्य सम्पन्न हुन करिब तीन साता लाग्न सक्ने अनुमान गरिएको छ।
हाल १३२ केभी लाइन पूर्ण रूपमा अवरुद्ध भएपछि कर्णाली प्रदेशमा वैकल्पिक व्यवस्था अन्तर्गत पुरानो ३३ केभी प्रसारण लाइनमार्फत सीमित मात्रामा विद्युत् आपूर्ति गरिएको छ।
तर, उक्त लाइनको क्षमता कम भएकाले मागअनुसार आपूर्ति गर्न नसक्दा विद्युत् सेवा प्रभावित भइरहेको छ।
दीर्घकालीन रूपमा कर्णाली प्रदेशको विद्युत् आपूर्ति सुधार गर्ने उद्देश्यसहित निर्माण गरिएको कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन अहिलेको अवस्थाले क्षेत्रीय विद्युत् प्रणालीको संवेदनशीलता उजागर गरेको छ।

